Loading... आजः १५ बैशाख २०८१, शनिबार

सुर्खेतमा शिवशिखरले ३० कराेड ठग्याे, ११ जनाबाट ११ कराेड मागदाबी

सुर्खेत – शिवशिखर सहकारी संस्थाको सुर्खेतको वीरेन्द्रनगरस्थित कार्यालयले यहाँका स्थानीयबाट झण्डै ३० करोड रुपैयाँ ठगेको पाइएको छ। प्रहरीले जिल्ला अदालतमा बुझाउन तयारी गरेको प्रतिवेदनमा ११ करोड विगो मागदावी गर्दै ११ जनालाई प्रतिवादी बनाएको छ।

१७८ जनाले आफूहरु शिवशिखर सहकारीबाट ठगिएको भन्दै जाहेरी दिएका थिए। उनीहरुले दिएको जाहेरीमा बढी ब्याजको प्रलोभनमा परेर आफूहरुले सहकारीमा रकम जम्मा गरेको उल्लेख छ। प्रहरीका अनुसार आफूहरु ठगिएको भन्दै निवेदन ल्याएर आउनेक्रम भने रोकिएको छैन । ‘आइतबारसम्म १७८ जनाले आफूहरु सहकारीबाट ठगिएको भन्दै जाहेरी निवेदन दिनु भएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी लक्ष्मण शाहीले भने, ‘अझै जाहेरी आउनेक्रममै रहेकाले ठगिनेहरुको संख्या अझै धेरै हुनसक्छ।’

भक्तपुरमा प्रधान कार्यालय रहेको शिवशिखरले सुर्खेतको वीरेन्द्रनगर र मेहलकुनामा शाखा कार्यालय खोलेको थियो भने सँगसँगै मार्ट पनि सञ्चालन गरेको थियो। दुई शाखाबाट झण्डै ३० करोड रुपैयाँ सहकारीले शेयर र विभिन्न बचतका नाममा उठाएको अनुमान छ। प्रहरीले निवेदनका आधारमा ११ करोड रुपैयाँ विगो र कैदको मागदावी गरेर प्रतिवेदन तयार पारेको छ । प्रहरीले सहकारी ठगीमा संलग्न सहकारीका निर्देशक ४१ वर्षीया गीता शर्मा, सञ्चालक पुष्कर मल्ल, र अमिष राजभण्डारीलाई काठमाडौंबाट ल्याएर बयान लिएको थियो भने सहकारीका मुख्यव्यक्ति केदानराथ शर्मामाथि काठमाडौंमा सिआइवीले अनुसन्धान गरिरहेको छ।

सहकारी ठगीमा संलग्न संचालक र कर्मचारी गरेर सात जना फरार छन् । प्रहरीका अनुसार सुर्खेत शाखाका प्रवन्धक चन्दन थापा, लेखा हेर्ने छवि डाँगी, कैलालीका दिपक बोहोरा, मोरङका लिलानाथ गौतम, भक्तपुरका राजु साखकर्मी, सिन्धुलीका तेजबहादुर तामा र काठमाडौंका सुशील बानियाँ फरार छन्।