Loading... आजः १५ बैशाख २०८१, शनिबार

चाडपर्व टार्न दुर्गममा पठाउँदै चामल

सुर्खेत – केही दिनअघि मुगुको मुगुमकार्मारोङ गाउँपालिका– ८ का पेमा लामा चामलको जोहो गर्न निस्किए। उनले गाउँमै रहेको डिपोमा चामल पाएनन्। घरमा खाने अन्न नभएपछि उनी घण्टौं पैदलै हिँडेर चामलको खोजीमा बजारसम्म पुगे। बजारबाट उनले दोब्बर बढी मूल्य तिरेर चामल किने।

मुगुको सदरमुकाम रहेको छायाँनाथ रारा नगरपालिका– ४ निवासी ६५ वर्षीया रिसिमकला भियाल पनि चामल खोज्दै सरकारी मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालयमा पुगिन्। घरमा अन्न सकिएपछि छाक टार्ने उपाय खोज्दै हिँडेकी उनले सहुलियतको चामल पाइनन्। खाद्य कम्पनीले चामल बिक्रीका लागि नभएको बताएपछि उनी खाद्यमा १४ सयमा पाइने चामललाई बजारमा २३ सय रुपैयाँमा किन्न बाध्य भइन्।

मुगुका पेमा र रिसिमकला त प्रतिनिधि पात्र हुन्। कर्णाली र सुदूरपश्चिमका दुर्गम जिल्लामा हिजोआज स्थानीयले पैसा तिरेर पनि चामल नपाउने अवस्था छ। यसकारण स्थानीयलाई नजिकिँदै गरेका चाडपर्वमा समेत चामल नपाइने हो कि भन्ने पिरलो छ। यसका लागि स्थानीय चामलको जोहो गर्नका लागि भौंतारिरहेका छन्। विगतका वर्षमा चाडपर्वमा समेत चामल नपाएका दुर्गमका बासिन्दालाई यसपालि भने चामल उपलब्ध गराउने सरकारी तयारी छ। यसैका लागि नजिकिँदै गरेका तीज, दसैं र तिहारजस्ता मुख्य चाडपर्वमा चामलको अभाव हुन नदिन सरकारले अहिलेबाटै ढुवानी थालेको हो। दुर्गममा चाडपर्वको बेलामा चामल अभाव हुन नदिन भन्दै खाद्य कम्पनीले चामल खरिद र ढुवानीको प्रक्रिया अगाडि बढाएको छ।

कर्णालीका दुर्गम जिल्लाहरू हुम्ला, मुगु, डोल्पा, जाजरकोट, कालीकोट, रुकुमपश्चिम, दैलेख, जुम्ला र सुदूरपश्चिमको बाजुरालागायतका जिल्लामा चामल पठाउन थालिएको छ। दुर्गममा उत्पादन नै नहुने र भएको अन्नले पनि वर्षभरि खान नपुग्ने अवस्था छ। दुर्गमका बासिन्दाका लागि सरकारले नै खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सहुलियत मूल्यमा चामल बिक्री गर्दै आइरहेको छ। पछिल्लो समय दुर्गमका डिपो र बिक्री केन्द्रमा सहुलियतको चामल सकिएको छ। तर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतले नजिकिँदै गरेका चाडपर्वमा दुर्गममा चामलको अभाव हुन नदिन ढुवानी सुरु गरेको हो। राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाका लागि चार हजार क्विन्टल चामल तिब्बतको बाटो हुँदै पठाइको छ।

खाद्य कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख माधव मिश्रले भने, ‘दुर्गमका बासिन्दाले यसपालि चाडपर्वमा सहजै चामल पाउनेछन्, यसका लागि हामीले अहिलेबाटै ढुवानी सुरु गरिसकेका छौं। दुर्गमबाट माग धेरै आएकाले स्टक भएको चामल सकिएको हो, हामीले नयाँ चामल खरिदका लागि पनि प्रक्रिया अगाडि बढाइसकेका छौं।’ उनले यसपालि दुर्गमका बासिन्दालाई चाडपर्वमा चामलको अभाव नहुने दाबी गरे। हुम्लाका लागि तिब्बतको बाटोबाट चामल पठाइएको भन्दै उनले बाँकी जिल्लाका लागि सुर्खेतबाटै ढुवानी हुने जानकारी दिए। उनका अनुसार हुम्लाबाहेकका जिल्लाका लागि सुर्खेतबाट १५ हजार क्विन्टल चामल ढुवानी भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, भारतले चामल आयातमा गरेको प्रतिबन्ध र खरिद तथा ढुवानीका लागि टेन्डर प्रक्रियामा भएको ढिलाइले गर्दा दुर्गमका डिपो र बिक्री केन्द्रमा चामल सकिएको कम्पनीले जनाएको छ। तर अब दसैंअगाडि नै दुर्गमका सबै डिपो र बिक्री केन्द्रमा चामल पठाइसक्ने मिश्रले बताए। उनका अनुसार दुर्गममा पठाउने ८ हजार क्विन्टल चामलका लागि सम्झौताको काम अन्तिम चरणमा पुगेको छ। यस्तै १२ हजार क्विन्टल चामल ढुवानीका लागि टेन्डरसमेत खुलाइएको छ। समयमै ढुवानी गरेर नजिकिँदै गरेका चाडपर्वमा दुर्गमका बासिन्दालाई चामलको अभाव हुन नदिने दाबी कम्पनीले गरेको छ। खाद्य कम्पनीको सुर्खेत कार्यालयले दुर्गमका बासिन्दालाई ९ शाखा कार्यालय, ७ डिपो र १७ बिक्री केन्द्रमार्फत सहुलियत मूल्यमा चामल बिक्री गर्दै आएको छ।

विपत्का लागि १० हजार क्विन्टल मौज्दात

यसैबीच, सम्भावित विपत्का लागि भन्दै कर्णालीमा १० हजार क्विन्टल चामल मौज्दात राखिएको छ। वर्षात्मा बाढी र पहिरोको जोखिम रहेको र पीडितलाई कुनै पनि बेलामा राहत उपलब्ध गराउनुपर्ने अवस्था आउने भन्दै उक्त चामल जिल्लामा नै मौज्दात राखिएको कम्पनीले जनाएको छ। जिल्लामा रहेका कम्पनीका सबै शाखा कार्यालयमा उक्त चामल मौज्दात रहेको हो। मौज्दात रहेको उक्त चामल हाल बिक्रीमा रोक लगाइएको छ। कम्पनीले उक्त चामल बिक्री नगर्दा सर्वसाधारणले चामल नपाउने र महँगोमा किन्नुपर्ने बाध्यता छ। नयाँ चामल ढुवानी भएपछि मात्र चामल बिक्री सुरु गर्ने कम्पनीको तयारी छ। सरकारको फितलो तयारी र बेवास्ताले दुर्गममा हरेक वर्ष चामलको अभाव हुने गरेको छ। समयमै ढुवानी नहुँदा चाडपर्वका बेला पनि चामल नपाउने समस्या थियो ।