Loading... आजः २० बैशाख २०८१, बिहीबार

३८ वर्षमा विमानस्थल बन्यो, जहाज कहिले ?

सुर्खेत – कुरा, २०४२ सालको हो। अहिले त कालीकोटमा राम्रो सडक छैन, त्यतिबेला के अवस्था थियो होला ? हो, त्यहीबेला कालीकोटमा हवाई सेवाको आवश्यकता महसुस गरियो। जिल्लाको नरहरिनाथ– १ कोटबाडास्थित सुनथरालीमा विमानस्थल बनाउन थालियो। त्यतिबेलैदेखि यहाँका बासिन्दाले विमान चढ्ने सपना देखे। त्यसयता मुलुकमा ठूल्ठूला राजनीतिक परिवर्तन भए। तर, कालीकोटवासीको विमान चढ्ने सपना अझै पूरा भएन।

२०७९ पुसमा बल्लतल्ल सुनथराली विमानस्थल कालोपत्रे भयो। त्यसपछि भने विमान चढ्न पाइएला भन्ने कालीकोटवासीमा आशा जाग्यो। तर, भौगोलिक रूपमा ठगिएका कालीकोटवासीलाई सरकारले पनि पटकपटक ‘धोखा’ दियो। विमानस्थल उद्घाटनको खबर पठाउँदै पटक–पटक बिनाकारण सरकारले कार्यक्रम स्थगित गर्दै आएको छ। सबै संरचना तयार भएर पनि यो विमानस्थल सञ्चालनमा आउन सकेको छैन।

पछिल्लो पटक भदौ १३ गते यो विमानस्थलमा परीक्षण उडान गर्ने भनियो। प्रधानमन्त्री पुष्पकमल दाहालबाट विमानस्थल उद्घाटनको कार्यतालिका पनि तयार थियो। सत्ता साझेदार दलका नेता/कार्यकर्ता र सांसदहरूले सामाजिक सञ्जालमार्फत विमानस्थलमा परीक्षण उडान हुने भन्दै व्यापक प्रचार गरेका थिए। जसबाट स्थानीयहरू निकै उत्साहित थिए। जहाज चढ्ने सपना पूरा हुने भयो भन्दै एकापसमा खुसी साटासाट गरिरहेका थिए। एकाएक उक्त कार्यतालिका स्थगित भएको खबर आयो। अर्थात्, परीक्षण उडान र विमानस्थलको उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यतालिका फेरि पनि स्थगित भयो भन्ने खबरले कालीकोटवासी पुनः निराश बने। तर स्थानीयको खुसी धेरै समय टिक्नै पाएन।

पर्यटनमन्त्री सुदन किरातीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कार्यक्रम स्थगित भएकोमा ‘क्षमायाचना’ पनि मागे। मन्त्री किरातीले आफूलाई शोक परेको प्राविधिक कारण देखाएर विमानस्थल उद्घाटन कार्यक्रम स्थगित भएको जानकारी दिए। तर, आँगनमै जहाज हेर्ने र जहाजमा यात्रा गर्ने कालीकोटवासीको सपना टुट्यो। स्थानीयहरू दुःखी भए। बारम्बार जहाज आउने आश्वासन पाएका स्थानीयहरू अब भने जहाज आउनेमा आशावादी छैनन्। पटकपटक परीक्षण उडान हुने भन्दै जनतालाई ढाँट्ने काम भएको उनीहरूको गुनासो छ।

विमानस्थलका लागि आवश्यक पूर्वाधार निर्माण भइसकेका छन्। कार्यालय भवनहरू रंगरोगन गरेर सजाइएका छन्। विमानस्थलमा नियमित उडानका लागि यसबीचमा विभिन्न दबाबमूलक सभा/सम्मेलन गरिए। तर पछिल्लो समय प्रधानमन्त्रीले उद्घाटन गर्ने तयारी गरिएको कार्यक्रम नै स्थगित भएपछि नागरिकहरू थप आक्रोशित बनेका छन्। स्थानीय उमेश विष्ट भन्छन्, ‘प्रधानमन्त्रीको पूर्वनिर्धारित औपचारिक कार्यक्रम आउन दुई दिनअगाडि स्थगित हुनुको कारण के हो ?

यो कालीकोटवासीको जहाज चढ्ने सपनामाथिको कुठाराघात हो। राज्यले हामी कर्णालीवासीलाई गर्ने व्यवहारको कस्तो छ भन्ने यसबाट देखाउँछ। हाम्रो जहाज चढ्ने सपना कहिले पूरा हुन्छ ?’

 

कालीकोटबाट प्रतिनिधिसभाका सदस्य एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परीक्षण उडानको कार्यक्रम स्थगित भएकोमा दुःख व्यक्त गरे। उनले भने, ‘परीक्षण उडानसहित प्रधानमन्त्रीबाट विमानस्थलको उद्घाटन हुने खबरले जिल्लामा निकै उत्साह छाएको थियो। ३८ वर्षदेखिको जहाज चढ्ने सपना पूरा हुनेमा सर्वसाधारणहरू खुसी थिए, तर एकाएक कसरी यो कार्यक्रम स्थगित भयो ? थाहा नै भएन।’ यसबाट कालीकोटवासीको मन दुःखेको उनको भनाइ छ। उनले भने, ‘नियमित उडानका लागि दबाब दिन्छौं, जनताको भावनामाथि खेलवाड गर्नेविरुद्ध हामी आफैं खेत बेचेर भए पनि जहाज चार्टर गर्छौं।’

‘सरकारले आश्वासन मात्र दियो’

झन्डै ३८ वर्ष लगाएर विमानस्थल बन्यो। तर ८ महिना बितिसक्दा पनि परीक्षण उडान हुन नसकेकोमा स्थानीयहरू सरकारप्रति रुष्ट छन। नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले प्रधानमन्त्रीबाट उद्घाटन हुने खबर पाएपछि फूल र दूबोका मालाहरू बुनेको तर सबै खेर गएको बताए।

‘पर्यटनमन्त्री सुदन किरातीले नयाँ वर्ष (वैशाख १ गते) नै जहाज ल्याएर उद्घाटन गर्ने आश्वासन दिएका थिए,’ गाउँपालिका अध्यक्ष विष्टले भने, ‘त्यसबेला पनि भएन। गत साउनमा प्रधानमन्त्री प्रचण्डले पनि जहाज ल्याएर भदौ १३ गते सुनथराली आउने भन्नुभयो। तर हामीलाई ढाँट्ने काममात्रै भयो। नागरिक उड्डयन प्राधिकरणले पनि कालीकोटवासीको भावना बुझेन।’ गत पुसमा कालोपत्रेसहित निर्माण सम्पन्न भएको उक्त विमानस्थलमा वैशाख पहिलो साता परीक्षण उडान गर्ने र त्यसपछि नियमित उडानका लागि तयारी गर्ने भनिएको थियो। नरहरिनाथ गाउँपालिका–१ का गणेशबहादुर विष्टले चैतमा सूचना निकालेर वैशाख पहिलो साता परीक्षण उडान गर्ने भनेपछि आफूहरू खुसी भएको बताए। तर त्यो काम नहुँदा अहिले निराश भएको बताए। उनले अब यो विमानस्थलमा जहाज आउनेमा आफूहरूको विश्वास नभएको सुनाए।

कालीकोटको प्रदेशसभा ‘ख’बाट निर्वाचित सांसद हिक्मतबहादुर विष्टले सुनथरालीमा पटकपटक जहाज आउँछ भन्ने हल्लामात्रै गरेर सरकारले जनतालाई भ्रममा पार्ने काम गरेको आरोप लगाए। संघीय सरकारका पर्यटनमन्त्री, प्रदेशका पर्यटनमन्त्री, संघ र प्रदेशका सांसद, एनएसीका अध्यक्ष र एयरलाइन्सका अधिकारीहरूसँग पटकपटक छलफल भए पनि कालीकोटवासीले आश्वासन मात्र पाएको बताए। उनले भने, ‘यसपटक त प्रधानमन्त्रीकै निर्धारित कार्यक्रम भएर विमानस्थल उद्घाटन गर्ने भनेपछि ढुक्क भएका थियौं, यो कार्यक्रम पनि स्थगित भयो। अब पटकपटक जनतालाई ढाँट्ने सरकार र नागरिक उड्डयन प्राधिकरणले यस विषयमा जनतालाई जवाफ दिनुपर्छ।’ सरकाले धोका दिएको उनको भनाइ छ।

कालीकोटका ९ वटै पालिकाका केन्द्रमा यातायात सेवा पुगिसकेको छैन। कतिपय पालिकाको केन्द्रमा सडक पुगे पनि गाडी जाने अवस्था छैन। स्थानीय तहले निर्माण गरेका सडकको अवस्था नाजुक छ। यहाँका अस्पताल र स्वास्थ्य संस्थाहरूको अवस्था पनि नाजुक छ। कर्णाली राजमार्ग र स्थानीय सडकमा ‘ज्यान हत्केलामा’ राखेर यात्रा गर्नुपर्छ। यहाँका नागरिकहरूको सहज आवतजावत र बिरामीहरूको उद्धारका लागि भरपर्दो हवाई सेवा नै हो। गाउँका नागरिकको पहुँचमा भरपर्दो यातायात सेवा नहुँदा यहाँका नागरिकलाई दैनिक उपभोग्य सामानहरू होस् वा गाउँबाट अस्पताल लैजानुपर्ने बिरामीहरू स्टेचर र डोको प्रयोग गरी थाप्लोमै भारी बोक्न बाध्य छन्। यसले नागरिकलाई परिवर्तनको आभास हुन सकिरहेको अवस्था छैन।

यसकारण सुरुवात भएको थियो विमानस्थल बनाउन 

२०३२ साल अगाडि कालीकोट छुट्टै जिल्ला थिएन। जुम्लामै मिसिएको थियो। जसलाई त्रिब्रिकोटले चिनिन्थ्यो। कालीकोटका विकट बस्तीबाट सदरमुकाममा पाइने सेवासुविधाहरू लिन जुम्ला जानुपथ्र्यो। यसले नागरिकहरूलाई निकै असुविधा थियो। जसकारण तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य धर्मदत्त उपाध्यायले २०३२ साल मंसिर २६ गते जुम्लाबाट विभाजन गरी कालीकोटलाई छुट्ट्याएर मुलुकको कान्छो जिल्ला बनाए। कालीकोट जिल्लाको जन्मदाता नै धर्मदत्त उपाध्याय भए। त्यतिबेला कालीकोटका नागरिकहरू नुन लिन भोट वा बर्दियाको राजापुर जानुपर्ने बाध्यता थियो। त्यसपछि जुम्लाबाट अलग्गिएको कालीकोटमा हवाई सुविधाका लागि जिल्लास्तरमा छलफल भयो।

तीन पटकसम्म राष्ट्रिय पञ्चायतका सदस्य बनेका धर्मदत्त उपाध्यायकै पहलमा विमानस्थल निर्माणको चर्चा सुरु भयो। जसका लागि स्थान छनोट गर्ने काम भयो। विभिन्न विकल्पहरूका बीच छलफल भएपछि तत्कालीन जिल्ला विकास समितिले कोटबाडामा सुनथराली विमानस्थल निर्माण गर्ने निर्णय गर्‍यो। २०४२ सालमा जिल्ला विकास समितिका सभापति दीपबहादुर शाही भएका बेला धर्मदत्त उपाध्यायकै पहलमा जिल्ला विकास समितिबाट एक लाख बजेट विनियोजन गरी विमानस्थल निर्माणको थालनी गरियो। त्यसपछि २०४८ सालमा कालीकोटबाट तिलकप्रसाद न्यौपाने सांसद निर्वाचित भए। उनकै पहलमा तत्कालीन गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले कालीकोट विमानस्थललाई रातो किताबमा समावेश गरी राष्ट्रिय बजेट विनियोजन भयो। त्यसबाट औपचारिक रूपमा विमानस्थल निर्माणले गति लियो।

२०५२ सालमा तत्कालीन माओवादीको सशस्त्र द्वन्द्व सुरु भयो। द्वन्द्वकै बेला यो विमानस्थल निर्माणमा खटिएका धादिङ जोगीमाराका १७ जनासहित ३७ जना मजदुरहरू मारिए। त्यसपछि विमानस्थल निर्माणको काम रोकियो। विमानस्थलका नाममा विनियोजन भएको बजेट पनि हरेक वर्ष काम गर्न नसकी फ्रिज भयो। २०६२/०६३ को जनआन्दोलनपछि लोकतन्त्र आयो। द्वन्द्व रोकियो। त्यसपछि फेरि सुनथराली विमानस्थल निर्माणको कामले गति लियो।

बारम्बारको नागरिक समाजको दबाब र संघीय सरकारमा २०७३ सालमा कर्णालीकै नेता जीवनबहादुर शाही पर्यटनमन्त्री बने। उनी मन्त्री नियुक्त भएकै दिनबाट लगातार यो विमानस्थलका विषयमा चासो राखे। त्यसपछि विमानस्थल निर्माणको कामले गति लियो। त्यसपछिका हरेक सरकारसँग यहाँका राजनीतिक नेतृत्वहरूले दबाब दिँदा २०७९ साल पुस मसान्तमा यो विमानस्थल निर्माणको काम पूरा भयो। तर यहाँ नियमित उडान भने अझै अन्योल छ। पटकपटक उडान गर्ने भनेर हल्ला गर्ने र नगर्ने गर्दा यहाँका नागरिकहरू सरकार र नागरिक उड्डयन प्राधिकरणप्रति आक्रोशित छन्।

भदौ १३ गते परीक्षण उडानसहित प्रधानमन्त्रीज्यूले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम थियो। तर, एकाएक कसरी यो कार्यक्रम स्थगित भयो ? यसले कालीकोटवासीको मन दुःखेको छ। नियमित उडानका लागि दबाब दिन्छौं।
महेन्द्रबहादुर शाही, प्रतिनिधिसभा सदस्य तथा कर्णालीका पूर्वमुख्यमन्त्री

सुनथरालीमा पटकपटक जहाज आउँछ भन्ने हल्लामात्रै गरेर सरकारले जनतालाई भ्रममा पार्ने काम गरेको छ। अहिले प्रधानमन्त्रीकै निर्धारित कार्यक्रम भएर विमानस्थल उद्घाटन गर्ने भनेपछि ढुक्क भएका थियौं। यो कार्यक्रम पनि स्थगित भयो। सरकारले पुनः धोका दियो।
हिक्मतबहादुर विष्ट, प्रदेशसभा सांसद, कर्णाली

पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गत वैशाख १ गते नयाँ वर्षको दिन जहाज ल्याउने आश्वासन दिए। उनले नै भदौ १३ गतेको निर्धारित कार्यक्रम पनि रोके। नागरिक उड्डयन प्राधिकरणले पनि कालीकोटवासीको भावना बुझेन।
नगेन्द्रबहादुर विष्ट, अध्यक्ष, नरहरिनाथ गाउँपालिका, कालीकोट

प्रधानमन्त्रीको पूर्वनिर्धारित औपचारिक कार्यक्रम आउन दुईदिन अगाडि स्थगित हुनुको कारण के हो ? यो कालीकोटवासीको जहाज चढ्ने सपनामाथिको कुठाराघात हो। यहाँ राज्यले हामी कर्णालीवासीलाई गर्ने व्यवहारको उत्कृष्ट उदाहरण हो।
उमेश विष्ट, स्थानीय बासिन्दा, कालीकोट