Loading... आजः १९ बैशाख २०८१, बुधबार

युवा स्वरोजगार प्रदेश सरकारको महत्वाकांक्षी योजना हो – मन्त्री सिंह

सुर्खेत  – कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले युवा स्वरोजगार प्रदेश सरकारको महत्वाकांक्षी योजना भएको बताएका छन् ।
कम्प्यूटर एसोशिएन नेपाल क्यान महासंघ सुर्खेत शाखाद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘आईटी एजेकेशन तथा करिअर प्लानिङ’ कार्यक्रममा बोल्दै योजनामन्त्री सिंहले युवा स्वरोजगारमार्फत कर्णाली समृद्धिको अभियान थालिएको बताए । उनले भने, “सरकारले कर्णालीको उद्यमशीलता, उत्पादनसँग जोडेर वार्षिक दश हजार युवाहरुलाई स्वरोजगार बनाउने महत्वाकांक्षी आयोजना ल्याएको छ । यसका लागि रु।एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ ।”

त्यसैगरी ७९ पालिका रहेको कर्णालीका सात सय १८ वटा वडा लक्षित गरेर ज्ञान र सीप प्राप्त गरेका युवाहरुलाई आत्मनिर्भर बनाउन सरकारले सहयोग गर्ने कार्यक्रम भएकोले ऐन, नियमावलीसँगै कार्यविधि बनाउने तयारीमा जुटिएको मन्त्री सिंहले बताए । शिक्षाको गुणस्तर वृद्धि गर्न लगानी हुनुपर्नेमा जोड दिँदै उनले त्यसमा गरिने लगानी व्यवस्थित हुने खालको नीति आवश्यक रहेको जनाए ।

कर्णालीको आर्थिक समृद्धिका लागि कृषिमा क्रान्ति आउनुपर्ने उनको भनाई थियो । कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्टार रेग भण्डारी तथा सुर्खेतका नगर शिक्षा प्रमुख धिरेन्द्र शर्माले प्रविधि र शिक्षालाई सँगसँगै लिनुपर्नेमा जोड दिए । आजको दुनिया सूचना र प्रविधिबाट टाढा हुन नसक्ने भन्दै शिक्षा सूचना र प्रविधिमैत्री हुन आवश्यक रहेको उनको भनाई थियो ।