Loading... आजः २० बैशाख २०८१, बिहीबार

रामेछापमा ‘१६ वर्ष पारी, नागरिकता जारी’ अभियान सुरु

रामेछाप – रामेछापमा ‘१६ वर्ष पारी, नागरिकता जारी’ अभियान सुरु भएको छ। जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउनका लागि अभियान सुरु गरिएको हो।

पालिका र वडा कार्यालयहरुको सिफारिसमा कार्यालयले प्रवाह गर्ने सेवाका बारेमा वडासम्मका जनप्रतिनिधि र कर्मचारीलाई जानकारी दिनका लागि अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्।

पालिका तथा वडाहरुले गर्ने सिफारिसमा कागजात अपुरो तथा विवरण पूरा नखुलाई सिफारिस गरिँदा सेवाग्राहीले दुःख पाउने गरेकाले सिफारिस गर्दा पुर्‍याउनु पर्ने प्रक्रिया, कागजाग र कानुनी विषयमा वडाका कर्मचारी तथा जनप्रतिनिधिलाई जानकारी दिने उद्देश्यले अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ। कतिपय वडाले सिफारिस गरेको कागजातको ओसी समेत नराख्ने गरेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

शनिबार लिखु तामाकोसी गाउँपालिकाबाट सुरु भएको अभियान जिल्लाव्यापी सञ्चालन गरिने प्रशासनले जनाएको छ।

स्थानीय स्तरमा हुने अपराध नियन्त्रण सम्बन्धी सचेतना तथा जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकार तथा वडाको सिफारिसमा प्रवाह गर्ने सेवाका बारेमा जानकारी दिन, समाजमा अपराध न्यूनीकरण र सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिइन्।