Loading... आजः २१ बैशाख २०८१, शुक्रबार

केन्द्रीय साधारण सभा कर्णालीमा गर्दै बार एशोसियसन

सुर्खेत – नेपाल बार एशोसियसनको केन्द्रीय साधारणसभा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने भएको छ । यही असोज १२ र १३ गते सुर्खेतमा हुने बारको केन्द्रीय साधारण सभालाई विधान सभाको रुपमा समेत लिइएको छ । यस पटक आर्थिक वर्ष २०७८÷७९ र ०७९÷८० गरी दुई वर्षको एकैपटक साधारण सभा हुन लागेको हो ।
बारले मंगलबार सुर्खेतमा पत्रकार सम्मेलन गरी कर्णालीमा गर्न लागिएको केन्द्रीय साधारण सभा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कानून मन्त्री धनराज गुरुङद्वारा उद्घाटन हुने जनाएको छ । बारका केन्द्रीय उपाध्यक्ष उत्तमप्रसाद आचार्यले बारले कर्णालीमा आयोजना गरिएको केन्द्रीय साधारण सभाको तयारी तिब्र रुपमा भईरहेको बताए । उनले भने, संंघीयतापछि बारको विधान संशोधन भएको छैन । यो साधारण सभामा संघीय संरचना बमोजिमको विधान संशोधन भई पारित हुनेछ । संशोधित विधान पारित हुनु नै यो साधारण सभाको मुख्य उपलब्धीका रुपमा बारले लिइएको छ ।
गत असार महिनामा बसेको बारको बैठकले विजय मिश्रको संयोजकत्वमा विधान संशोधन उपसमिति गठन गरिसकेको छ । उक्त समितिले संशोधित मस्यौदा तयार गरिरहेको छ । दुई वर्षमा हुन नसकेको साधारण सभा अहिले हुन लागेको छ । त्यो पनि कर्णालीमा हुन लागेकाले यो गौरवको विषय हो । बारका उपाध्यक्ष आचार्यले भने । बारको केन्द्रीय साधारण सभा सुर्खेतमा आयोजना हुनुलाई कर्णालीको लागि गौरवका रुपमा लिइएको छ । यस अघि कर्णालीमा नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा सम्पन्न भएको थियो । जसले कर्णालीमा पनि राष्ट्रिय स्तरका कार्यक्रम सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिएको थियो ।
बारको साधारण सभामा एक हजार बढी प्रतिनिधीहरुको सभागिता रहनेछ । सुर्खेतका वीरेन्द्रनगर र छिन्चुमा समेत गरी आवास सहितका एक हजार १ सय ८१ होटलहरु उपलब्ध हुने जानकारी प्राप्त भएको वरिष्ठ अधिवक्ता ध्रुवकुमार श्रेष्ठले बताए । साधारण सभाका लागि १० वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ । साधारण सभामा कर्णालीको पर्यटन प्रवद्र्धनलाई विशेष ध्यानमा राखिएको बताइएको छ । कर्णालीका पर्यटकियस्थलको पहिचान गर्न र यहाँको रितीरिवाजलाई नेपालभर चिनाउने योजना रहेको छ । त्यसका लागि सांस्कृतिक क्षेत्रमा विशेष योगदान पु¥याएको कलाकारहरुको संलग्नतामा कर्णालीको लोक सांस्कृतिक कार्यक्रमहरु प्रदर्शनी हुने छ भने पर्यटकीय अवलोकनका लागि पर्यटन प्रवद्र्धन उपसमिति समेत गठन गरिएको छ । कर्णालीका पर्यटन व्यावसायीहरु मार्फत रारा तालसम्मको टूर प्याकेजका लागि व्यवस्था मिलाइएको जनाइएको छ । करिब ४० लाख खर्च अनुमान गरिएको यो साधारण सभाका लागि बारले आफ्नो कोष सहित पर्यटन बोर्ड, कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर सहित सुर्खेतका स्थानीय तह लगायत विभिन्न निकायबाट आर्थिक सहयोग लिने बताएको छ ।