Loading... आजः १८ बैशाख २०८१, मंगलवार

संविधानप्रतिको सच्चा सम्मान र समर्पणले देशलाई समृद्ध बनाउन सकिन्छ : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानप्रतिको सच्चा सम्मान र समर्पणले देशलाई समृद्ध लोकतन्त्रको नयाँ उचाइमा पुराउन सकिने विश्वास व्यक्त गरेका छन्।

संविधान दिवस,२०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले  संविधानको कार्यान्वयनलाई गति दिँदै राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गरी देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत रहेको बताए।

उनले संविधानका आधारस्तम्भहरू क्रमशः सवल बन्दै गएसँगै देशमा राजनीतिक स्थायित्व कायम भएकाले अबको कार्यसूची सुशासन,समृद्धि र सामाजिक न्याय भएको स्पष्ट पारे।

खड्काले उपलब्ध आधुनिक प्रविधिको समेत प्रयोग गरी नागरिकलाई राज्यबाट दिनुपर्ने सेवालाई सरल र सुलभ बनाउन सरकार प्रयत्नशील रहेको र शिक्षा,स्वास्थ्य जस्ता आधारभूत सेवामा सबै नेपालीको समान र सहज पहुँच होस् भन्ने विषयमा सरकार सचेत र सजग रहेको बताए।

कार्यवाहक प्रधानमन्त्री खड्काले भने ,’संविधानको कार्यान्वयनबाट सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्दै जनतालाई गरिबी,अशिक्षा तथा पछौटेपनबाट मुक्ति दिलाइ समतामूलक समाजको सिर्जना गर्नु हाम्रो साझा दायित्व हो ।’

कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले स्वास्थ्य पूर्वाधार एवं सेवाहरूको विस्तार र सृदृढीकरण गरी महामारी नियन्त्रण तथा विपद् व्यवस्थापन एवं न्यूनीकरण गर्न सक्दो प्रयास गरेको र डेङ्गु रोग फैलन नदिन तथा यसबाट हुनसक्ने सम्भावित क्षति न्यून गर्न आवश्यक तयारी गरिरहेको बताए । उनले बाढी, पहिरोजस्ता विपद्का कारण भएको धनजनको क्षतिमा तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि प्रदेश र थानीय तहसमेतको समन्वयमा काम गरिएको उल्ले गरे।

उनले  उपलब्ध आधुनिक प्रविधिको समेत प्रयोग गरी नागरिकलाई राज्यबाट दिनुपर्ने सेवालाई सरल र सुलभ बनाउन सरकार प्रयत्नशील रहेको पनि जानकारी गराए। उहाँले संविधान दिवसका अवसरमा कुनै आग्रह र पूर्वाग्रह नराखी देश र जनताको बृहत्तर हितलाई सर्वोपरी ठान्दै विकास र समुन्नतिमा जुट्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यम, निजी क्षेत्रलगायत सबैमा आग्रह  गरे।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए। नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो ।  ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।