Loading... आजः १८ बैशाख २०८१, मंगलवार

‘पारस दाइ’को यात्रा: १५ वर्षमै क्रिकेट डेब्युदेखि क्यानको सचिवसम्म

काठमाडौं – अबदेखि पारस खड्कालाई नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान मात्र भनेर चिनिने छैन। खेलाडी र कप्तानका रुपमा नेपाललाई विश्व क्रिकेट लिग डिभिजन ५ देखि विश्वकपसम्म डोहोर्‍याउने खड्का शनिबारदेखि नेपाल क्रिकेट संघ (क्यान)को सचिव बनेका छन्। सक्रिय खेलजीवनबाट सन्यास लिएको ७८१ दिनमा उनी क्यान केन्द्रीय कार्यसमितिको सचिव बनेका हुन्।

यसबीचमा उनी काठमाडौं क्रिकेट संघको कार्यसमिति सदस्य, बागमती क्रिकेट संघको अध्यक्ष रहे। केन्द्रीय कार्यसमितिमा प्रतिस्पर्धा गर्न योग्य भएसँगै सचिव पदका लागि उम्मेदवारी दिए। खड्काको प्रतिस्पर्धी थिए, कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल। शनिबार सम्पन्न निर्वाचनमा खड्काले ४८ मत ल्याउँदा मल्लले ३७ मत प्राप्त गरे।

नेपाली क्रिकेटलाई खेलाडीभन्दा फरक भुमिकामार्फत् योगदान दिने उद्घोषसहित खड्काले २०७८ साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। त्यसअघि २०७६ कात्तिक २३ गते नेपाली क्रिकेट टोलीको कप्तान पदबाट राजीनामा दिएका थिए। खड्काले खेलजीवनबाट बिदा लिनुपछाडि क्यानको नेतृत्वमा आउने चाहना नै मुल कारण मानिएको थियो।

क्यानको भद्रगोलबिरुद्ध आफूले गरेको बिद्रोहकै कारण खड्का क्यानमा आउन चाहेको लख काटिन्थ्यो। तर, विधानअनुसार खेलजीवनबाट बिदा लिएको २ वर्षसम्म क्यानको नेतृत्व तहमा आउन पाइँदैन। साउनमै २ वर्ष पुगेपछि पारसका लागि बाटो खुलेको हो। काठमाडौं क्रिकेट संघको कार्यसमिति सदस्य बनेसँगै पारस केन्द्रसम्म छलाङ मार्न चाहन्थे। त्यसअघि उनलाई बागमती क्रिकेट संघमा जित आवश्यक थियो। काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर क्रिकेट संघको समर्थनमा उनी बागमतीको अध्यक्ष बनेका थिए।

समर्थकमाझ सर्वाधिक रुचाइएका खेलाडी र कप्तान खड्का ९ वर्ष नेपाली क्रिकेट टिमको कप्तान रहे। खड्काको ब्याट र बलबाट निस्कने कप्तानी पारी हेर्न लागि समर्थक देशविदेशमा पुग्थे। उनकै प्रस्तुति र नेतृत्वमा नेपालले विश्व क्रिकेट लिग डिभिजन ५, ४ र ३ च्याम्पियन भयो। सन् २०१४ मा पहिलो र मात्र एकपल्ट टी–ट्वान्टी विश्वकप पनि खेल्यो।

सचिवमा निर्वाचित भएपछि पारसले क्रिकेटका राम्रा र नराम्रा पक्षलाई एकठाउँमा ल्याएर यस क्षेत्रलाई संस्थागत रुपमा अघि बढाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। घरेलु क्रिकेटका संरचना विकास गर्नु आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।
‘सबैभन्दा ठूलो कुरा भनेकै घरेलु क्रिकेटको संरचना छ। म क्रिकेट टिमको कप्तान हुँदा पनि यो कुरामा धेरै प्रश्न गरेको थिएँ,’ खड्काले भने, ‘आफैं संघको सचिव भएपछि मेरो एउटा मात्रै प्राथमिकता घरेलु क्रिकेटको संरचनालाई कसरी बलियो बनाउने ? भन्ने हुन्छ,’ उनले भने। उनले भौतिक संरचनामा सरकार र राष्ट्रिय खेलकुद परिषद्ले विशेष भूमिका खेल्न आवश्यक रहेको बताए।

खड्का नेपालको मात्रै भएर सम्पूर्ण एसोसिएट क्रिकेटको हिरा हुन्। क्रिकेटमा खड्का झै देशलाई योगदान दिनेको संख्या निकै कम छ। अग्ला कदका खड्का ब्याटिङमा टप स्कोरर मात्र नभएर कहिलेकाही सर्वाधिक विकेट लिने खेलाडी पनि बन्थे। दाहिने हातले ब्याटिङ तथा मध्यम पेस र अफस्पिन बलिङ गर्नु उनको सिप थियो।

पारसले १५ वर्षको वर्षको उमेरमा देशका लागि अन्डर–१९ टोलीमा डेब्यू गरेका थिए। सन् २००४ मा अन्डर १९ विश्वकप खेलेपछि उनी राष्ट्रिय टोलीमा परे। सन् २००९ मा उनी राष्ट्रिय क्रिकेट टिमको कप्तान बने। निरन्तर बढिरहेको क्रिकेट क्रेजको कारण थियो, काठमाडौंमा सम्पन्न डिभिजन ५ जसमा नेपालले उपाधि जित्यो।

सन् २०१२ मा नेपाल डिभिजन ४ र २०१३ मा डिभिजन ३ च्याम्पियन बन्यो। खड्काकै कप्तानीमा विश्व वरीयतामा नेपाल निरन्तर उकालो लाग्न थाल्यो, टी–ट्वान्टी विश्वकप खेल्यो र एकदीवसीय मान्यता पायो।  सन् २०१४ मा बंगलादेशमा आयोजित टीट्वान्टी विश्वकपमै अफगानिस्तान र हङकङलाई हराएर नेपालले तहल्का मच्चायो। विश्वकपको पहिलो बलमै खड्काले विकेट लिएका थिए।

क्यानका नवनिर्वाचित खड्काले सिनियर टोलीका लागि १ सय ४५ खेल खेलेका छन्। जसमा १० ओडीआई (एकदिवसीय अन्तरराष्ट्रिय) र ३३ अन्तरराष्ट्रिय टी–ट्वान्टी खेल सामेल छन्। खड्का दुवै फम्र्याटमा सतक बनाउने नेपालको पहिलो खेलाडी हुन्। नेपालले एकदिवसीय मान्यता पाएको १ वर्ष नबित्दै कप्तानी बाट राजीनामा दिए, कप्तानी छाडेको ३२ महिनापछि खेलजीवन पनि छोडेका थिए।

अध्यक्षमा तेहेरिए चन्द

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चुतरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। चन्द तेस्रो कार्यकाल अध्यक्ष बनेका हुन्। शनिबारको चुनावी साधारणसभामा अध्यक्ष पदका अर्का उम्मेदवार विनय राज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध भएका हुन्। योसँगै चन्द तेस्रो पटक क्यानको अध्यक्ष बनेका छन्।

क्यानको उपाध्यक्षमा रोशन कुमार सिंह र कोषाध्यक्षमा पदम बहादुर खड्का समेत निर्विरोध निर्वाचित भए। महिला सदस्यमा जयन्तीदेवी भट्ट र प्रदेशतर्फ कर्णालीबाट श्रीधर केसी, लुम्बिनीबाट प्रदिप मजगैया कार्यसमिति सदस्यमा निर्विरोध चयन भए। कार्यसमितिमा कोशीबाट अर्जुन पौडेल, मधेशबाट माधव कुमार कर्माचार्य, बागमतीबाट दिवाकर घले, गण्डकीबाट सुदीप शर्मा र सुदुरपश्चिमबाट विक्रम विष्ट निर्वाचित भए। त्यस्तै खुल्ला सदस्यमा धिरेन्द्र सावद, दुर्गा पाठक, आयुस श्रेष्ठ, विरेन्द्र चन्द, करन महत्रा क्षेत्री निर्वाचित भएका छन्।

निविरोध अध्यक्ष बनेका चन्दले ३ महिनाभित्र घरेलु क्रिकेट संरचनालाई बदल्ने बताए। भारत र पाकिस्तानसँग खेलिसकेको स्मरण गर्दै उनले यी दुई देश झैं क्रिकेटको आधार निर्माण गर्ने योजना रहेको सुनाए।

उनले पद पाएसँगै जिम्मेवारी बढेको महसुस भएको बताए। अघिल्लो कार्यकालभन्दा यसपटक केही नयाँ किसिमबाट राम्रो गर्ने प्रतिवद्धता उनले जनाए। ‘आगामी कार्यकाल उत्कृष्ट गर्ने प्रयास गर्नेछौं। पदसँगै चुनौती पनि आउँछन्। जिम्मेवारी बढेको छ। अब टेस्ट क्रिकेटको आधार तयार पार्नुछ,’ उनले भने, ‘गएको कार्यकाल मिश्रित रह्यो।’