Loading... आजः २१ बैशाख २०८१, शुक्रबार

१० लाख पूँजिसम्मका व्यवसाय वीरेन्द्रनगरमै दर्ता हुने

सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाले व्यवसाय दर्ता–नविकरण सेवाको सुरुवात गरेको छ । पालिका भित्र सञ्चालन हुने १० लाख रुपैयाँसम्म कुल पूँजि रहेका साना उद्योग तथा व्यवसायका लागि पालिकामै दर्ता तथा नविकरण सम्बन्धि सेवा सुरु गरिएको छ ।

सोमवार एक कार्यक्रमका विच वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले सेवाग्राहीलाई व्यवसाय दर्ता प्रमाण पत्र हस्तान्तरण गरिन् । व्यवसाय दर्ता सेवाको समेत सुभारम्भ गर्दै नगर प्रमुख ढकालले वीरेन्द्रनगर–१० स्थित कोशेली सप्लायर्स एण्ड केक हाउसको दर्ता प्रमाणपत्र फर्मका सञ्चालकलाई हस्तान्तरण गरेकी हुन् ।

कुल १० लाख रुपैयाँ पूँजि रहेको उक्त व्यवसाय यसअघि वीरेन्द्रनगरमा कर्णाली टेक्नो इन्टरप्राइजेज्को नामबाट सञ्चालनमा थियो । फर्मका सञ्चालक राधा आचार्यले व्यवसायको नाम परिवर्तनका लागि वीरेन्द्रनगरमा निवेदन दिएपछि पालिकाले नाउँ परिवर्तन गरेर व्यवसाय दर्ता प्रमाणपत्र उपलब्ध गराएको हो ।

अव १० लाख रुपैयाँसम्म पूँजि भएका उद्योगहरुले अव सम्वन्धित स्थानीय तहमै उद्योग दर्ता गर्छ । १० लाख रुपैयाँ भन्दा बढी पाँच करोड रुपैयाँसम्म पूँजि भएका उद्योगहरु भने कर्णालीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत रहेका उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयहरुमा दर्ता गर्नुपर्ने प्रावधान छ । त्यसैगरी पाँच करोड रुपैयाँ भन्दा माथि पूँजि भएका उद्योगहरु मन्त्रालय मातहतको निर्देशनालयमा दर्ता गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।

प्रदेश व्यापार–व्यवसाय (दर्ता तथा सञ्चालन) नियमावली, २०८० ले १० लाख रुपैयाँसम्म पूँजि भएका व्यवसाय पालिकामै दर्ता गर्नुपर्ने व्यवस्था गरेको वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले जानकारी दिए । यसअघि भदौ १२ गते कर्णालीको उद्योग, उपभोक्ता तथा हित संरक्षण निर्देशनालयले १० लाख रुपैयाँसम्म पूँजि भएका कुल सात हजार सात सय ८१ वटा व्यवसायका कागजपत्र वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरेको थियो । सो मध्ये सात हजार सात सय २० वटा वाणिज्य तर्फका व्यवसाय र ६१ वटा उद्योग तर्फका व्यवसाय रहेको प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।