Loading... आजः २१ बैशाख २०८१, शुक्रबार

चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री दाहाल

ल्हासा – प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण सोचेभन्दा पनि बढी सफल भएको आफूले महसुस गरेको बताएका छन्।

चीनको स्वशासित क्षेत्र ल्हासा आइपुगेका प्रधानमन्त्री दाहालले ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘म अमेरिकादेखि नै आएँ र यस पटकको चीन भ्रमण कस्तो होला भन्ने पनि लागिरहेको थियो। तर अहिले मलाई महसुस भएको छ कि भ्रमण मैले, हामीले सोचेभन्दा पनि फरक भएको छ, सफल भएको छ।’

यस पटकको आफ्नो चीन भ्रमण यसकारण पनि अन्तर्राष्ट्रियरुपमै चासो रहेको आफूले पाएको उनको भनाइ थियो। त्यसैले यो भ्रमणको सफलताका विषयमा सबैतिर चासो रहेको उनले बताए। प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यस भेटवार्ताका क्रममा नेपाललाई उनले निकै नै महत्त्व दिएको आफूले पाएको बताए।

प्रधानमन्त्री दाहालले एसियाली खेलकुद प्रतियोगिताको आयोजना गरेको सहर हाङ्चाउमा चिनियाँ राष्ट्रपति सी सँग भेटवार्ता गरेका थिए। त्यस क्रममा उनले एक्लै र नेपाली प्रतिनधिमण्डलले नै भेटेको र आफूहरुलाई एक घन्टा नै समय दिएको प्रसंग उल्लेख गरे। ‘कुनै पनि देशसँग चीनजस्तो देशका राष्ट्रपतिले एक/एक घन्टा समय दिनु भनेको सामान्य होइन, हामीलाई पनि थाहा छ चीनले अरु देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूलाई समय दिएको देखे सुनेका छौं, त्यसैले मलाई लाग्छ यो एक दुर्लभ घटना पनि हुनसक्छ,’ उनले भने।