Loading... आजः २१ बैशाख २०८१, शुक्रबार

उच्चस्तरीय छानबिन आयोग बनाउन सरकार पछि हट्यो : ओली

सुर्खेत – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा भएका ठूला भ्रष्टाचारका घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउने काममा सरकार पछि हटेको बताएका छन्। नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी, सुन प्रकरणलगायतका विषयमा गहिरो गरी निष्पक्ष छानबिनका लागि एमालेसँग सरकारले उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति गरेको थियो। त्यो सहमतिबाट सरकार अहिले पछि हटेको छ। एमालेसँग भएको सहमतिबाट सरकारलाई पछि हट्ने छुट छैन। त्यसका लागि प्रधानमन्त्री विदेशबाट फर्किएपछि हामी गम्भीर ढंगले कुरा उठाउछौं।’

उनले सरकार आफैंले कांक्रा चोर्ने र बिया एमालेको गालामा टास्न सक्रिय रहेको आरोप लगाए। ‘सरकार आफैं सुन तस्करी गर्छ। बाहिर तस्करी नियन्त्रण गर्छौं भनेर नारा लगाउँछ। विमानस्थलको मेसिनले झाला चेक गर भन्छ तर त्यहाँ सरकारले राखेको हेरालोले छिटो ले छिटो भनेर भन्छ। यसरी मुलुकमा सुशासन र समृद्धिको कल्पनासमेत गर्न सकिँदैन,’ उनले भने।

उनले कर्णालीमा प्राकृतिक स्रोत र संस्कृतिको धरोहर रहेको बताए। ‘कर्णालीमा विकटता छ। यसलाई सहज बनाउनुपर्ने छ। तर यहाँको सभ्यता, संस्कृति र प्राकृतिक स्रोतहरू प्रयाप्त छ। यसलाई सदुपयोग गरेर मुलुकको समृद्धि गर्न सकिन्छ,’ उनले भने।