Loading... आजः १८ बैशाख २०८१, मंगलवार

हुम्लाको बाटो भएर कैलाश मानसरोवरको दर्शन गर्ने व्ययस्था मिलाउँछु : प्रधानमन्त्री दाहाल

कैलाश मानसरोवर – चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाउने बताएका छन्।

प्रधानमन्त्री दाहाल आज कैलाश पर्वत र मानसरोवर ताल क्षेत्रको स्थलगत अवलोकनका लागि त्यहाँ पुगेका थिए। सो भ्रमणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले हिन्दू तीर्थयात्रीहरूको यस पवित्रस्थलको दर्शन एवं अवलोकनका लागि नेपालको बाटो भएर आउन सकिने गरी व्यवस्था मिलाइने बताए।

उनले नेपाली, भारतीय र अन्य देशका पर्यटक एवं तीर्थयात्रीले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भइसकेको जानकारी पनि दिए।

हिन्दू धर्मग्रन्थहरूमा उल्लेख भएअनुसार कैलाश पर्वतलाई देवहरूका पनि देव, महादेव रहने स्थान एवं अन्य देवी-देवताहरूले पनि स्पर्श गरेको पवित्र भूमि मानिन्छ। त्यसैले कैलाश पर्वत र यस क्षेत्रलाई हिन्दू धर्मावलम्बीहरूले पवित्र तीर्थस्थलका रूपमा लिने गरेका छन्। चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोवर क्षेत्र करिब दुई सय ५० किलोमिटर टाढा छ।