Loading... आजः १८ बैशाख २०८१, मंगलवार

कर्णालीका हिमाली जिल्लामा उत्पादन हुने कृषि उपजको उत्पादन र बजारीकरणमा मूल्य समायोजन गरिने

सुर्खेत – कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा उत्पादन हुने कृषि बस्तुको उत्पादन र बजारीकरणमा मूल्य समायोजन गरिने भएको छ।

प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले त्यसका लागि तयारी गरेको हो । कर्णालीका कृषिमन्त्री भीम प्रकाश शर्माले  भू–गोलको विकटतासँगै  उत्पादनको हिसाबले पनि कमजोर रहेको भन्दै हिमाली क्षेत्रमा उत्पादन हुने कृषि उपज र बजारीकरणको  समायोजन हुने बताए ।
मन्त्री शर्माले प्रदेशमा भएको रैथाने बाली उत्पादनमा संरक्षण र बजारीकरण गर्न प्रदेश सरकारले कृषि उपज उत्पादन र बजारीकरणको लागि समायोजन नीति लिएको बताए । सोही अनुरूप काम गरिने उनको भनाइ छ।
‘कर्णालीमा पोषणयुक्त खाद्यान्न उत्पादन पनि हुने र कुपोषणबाट बालबालिका ख्याउटे पुड्का पनि हुने तथ्याङ्कको गलत परिभाषा सच्याउन आवश्यक छ,’ उनले भने,‘कोदो खानेलाई गरिब भनिन्छ, नेपालमा गरिबीको संख्या पनि बढ्दो छ । तर गरिबी हुने कारण उत्पादन बस्तुको मूल्य तय नगर्दा समस्या भएको हो । कर्णाली जे  बेच्छ  मूल्यवान बस्तु नै बेच्छ भन्ने तथ्य प्रमाणित गर्न मूल्यवान् लोगो निर्माण गरी कर्णालीको रैथाने उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रदेश सरकार बजारीकरण गर्न तयार छ ।’

दक्षिण एसियामा भारतपछि कोदो उत्पादनमा दोस्रो मुलुक नेपाल भएको भन्दै उनले कोदो र कोदो जन्य लट्टे, चिनो, कागुनो उत्पादनलाई प्रोसेसिङ्ग, लेवलिङ्ग र प्याकेजिङ्ग गरी अन्तर्राष्ट्रिय बजारीकरण गर्न प्रदेश सरकार उत्पादन र ढुवानीमा अनुदान दिने बताए ।

मन्त्री शर्माले उच्च हिमाली क्षेत्रमा च्याङ्ग्रा, चौरी, मुसे, भेडा कार्यक्रम र हुम्लाको तल्लो भू–गोलमा सुन्तला, कागती र फलफूल कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले पकेट क्षेत्र विकास कार्यक्रम बिस्तार गर्ने बताए । उनले त्यसबाट उत्पादन वृद्धि र दिगो कृषिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।