Loading... आजः २१ बैशाख २०८१, शुक्रबार

‘अप्ठ्यारोमा रहेको अर्थतन्त्रलाई समयमै रोकेर सुधार गरौं’

काठमाडौं – अप्ठ्यारोमा रहेको अर्थतन्त्रलाई थप जटिलतामा जानबाट रोक्न समयमै सुधार गर्नुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन्। अर्थतन्त्रलाई छिट्टै सुधारतर्फ लैजान सरकारले पुँजीगत खर्च गर्नुपर्ने, निर्माण व्यवसायीहरूलार्ई भुक्तानी दिनुपर्नेमा नेपाल उद्योग परिसंघका (सिएनआई)का अध्यक्ष राजेश कुमार अग्रवालले सरकारको ध्यानाकर्षण गराएका छन्।

परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामनासहित अर्थतन्त्रका विषयमा छलफल गर्दै अफ्ठ्यारोबाट छिट्टै सुधार गर्न उनले सरकारको ध्यानाकर्षण गरेका हुन्। यसैक्रममा परिसंघ अध्यक्ष अग्रवालले भने, ‘अर्थतन्त्रलाई डीप डिप्रेसनमा जानबाट रोक्न समयमै सुधार गर्नुपर्छ, ढिलो गरी गरिने सुधारले काम नगर्न पनि सक्छ।’

आर्थिक मन्दीका कारण उद्योग व्यवसायी, सरकार लगायत सर्वसाधारण समेत खर्च गर्न डराएका कारणले माग घटेकाले अर्थतन्त्रलाई चलायमान बनाउन बजारमा पैसा पठाउनुपर्नेमा उनले सुझाए।

यससँगै राष्ट्र बैंकले प्रभावित क्षेत्रका लागि कर्जाको पुनर्संरचना र पुनर्कर्जाको पैसा दिनुपर्नेमा जोड दिए। मुलुकको अर्थतन्त्र जटिल अवस्थामा रहेकाले सुधारका लागि सबैको प्रयासको खाँचो रहेकोउनले बताए।

अध्यक्ष अग्रवालका अनुसार विदेशी मुद्रा संचितिमा दबाब पर्दा लिइएको नीति, कोभिड १९ को असरबाट बाहिर निस्कन नपाउँदै प्रभावित क्षेत्रलाई दिइएको छुट तथा सुविधा एकै पटक हटाउँदा अर्थतन्त्र आजको अवस्थामा आइपुगेको  हो।

यस्तै, सेजनका नवनिर्वाचित अध्यक्ष ओलीले व्यावसायिक वातावरण बनाउन काम गर्नुपर्ने बताए। सेजन नीतिगत सुधारमा लागेको भन्दै कानुन तथा नीतिगत सुधारका लागि सहकार्य गरेर अगाडि बढ्न सकिने बताए।

कार्यक्रममा परिसंघका उपाध्यक्षहरू विरेन्द्रराज पाण्डे, भीम घिमिरे, परिसंघ पदाधिकारी सदस्य गोकुल भण्डारी, सन्दिप सारडालगायतको सहभागिता रहेको थियो।