Loading... आजः १९ बैशाख २०८१, बुधबार

१ हजार टहरा निर्माण गर्दै कांग्रेस


जाजरकोट – भूकम्पपीडितहरूको अस्थायी बसाई व्यवस्थापन सहजीकरणका लागि कांग्रेसले दुई महामन्त्रीको संयोजकत्वमा सहजीकरण समिति गठन गरेपछि गगन थापा र विश्वप्रकाश शर्मा कात्तिक २३ गते भूकम्प प्रभावित क्षेत्रमा पुगे।
इन्जिनियरसहित आएका उनीहरूले स्थानीय स्रोतसाधन प्रयोग गरेर अस्थायी आवास निर्माणको नमुना बनाए। उनीहरूले भेरी नगरपालिका–३ का प्रकाशजंग शाहको भत्किएको घरनजिकै एउटा अस्थायी आवास बनाए। जहाँ, नेपाली कांग्रेसबाट निर्वाचित नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको भूकम्पमा परी निधन भएको थियो।

अर्को, सोही वडाको पीपलडाँडामा भूकम्पले घर भत्किएर ज्यान गुमाएकी जया शाहका छोराहरू पवन शाह र सञ्जीव शाहका लागि अस्थायी आवास बनाइदिए। त्यस्तै नलगाड नगरपालिका–१ चिउरीका तप्तबहादुर कुमाइको अस्थायी आवाससमेत उनीहरूले बनाए। घर भत्किएर घरमुली कुमाईको निधन भएपछि उनका श्रीमती र चार छोराछोरीको बिचल्ली भएको थियो। अहिले कांग्रेसले बनाइदिएको अस्थायी घरमा उनीहरू बस्छन्। पीडित परिवारले दुःखको बेला कांग्रेसले सहयोग गरेर ठूलो गुण लगाएको बताएका छन्।

जिल्लाबाट फर्किएलगत्तै महामन्त्रीद्वयले नमुना अस्थायी आवास निर्माणमा ३० देखि ५० हजारसम्म लाग्ने सुझाव प्रधानमन्त्री दिए। उनीहरूले तत्काल अस्थायी आवासका निम्ति सरकारले आवश्यक अनुदान दिन मागसमेत गरे। सोही सुझावको आधारमा सरकारले पीडित सबै परिवारलाई अस्थायी आवास निर्माणका लागि जनही ५० हजार दिने निर्णय गर्‍यो।

कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा कम्तीमा पाँच सय अस्थायी आवास बनाउने योजना बनाएको छ। त्यसका निम्ति पार्टीले एक हजार स्वयंसेवक परिचालन गर्न लागेको जाजरकोट सभापति वेदराज सिंहले बताए।

त्यस्तै मंसिरको पहिलो साता कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा जाजरकोटमा अस्थायी आवास निर्माण भयो। इन्जिनियरसहित १ सय ५० जनाको टोलीले नलगाड नगरपालिका–५ मा एक सय अस्थायी आवास निर्माण गरेर फर्किएको सभापति सिंहले बताए। कांग्रेसका अन्य टोलीले नलगाड र भेरीमा थप ५० अस्थायी टहरा बनाएको जाजरकोटका पार्टी प्रवक्ता छवि पन्तले बताए।

‘एक हजार अस्थायी टहरा बनाउने पार्टीको निर्देशनअनुसार साथीहरू जुटिरहुनुभएको छ,’ युवा नेता पौडेलले भने, ‘दुःखमा परेका बेला हाम्रो सहयोगले उहाँहरूको पीडा कम गर्न मद्दत पुगोस्।’ कांग्रेसले विपन्न बस्तीमा केन्द्रित भएर काम भइरहेको उनको भनाइ छ। कांग्रेसले प्रत्येक पालिकामै अस्थायी आवास निर्माणका लागि केन्द्रीय सदस्य खटाएको छ।

कांग्रेस सहमहामन्त्री जीवन परियारका अनुसार जाजरकोटको बारेकोट गाउँपालिकामा गोविन्दबहादुर शाह, नलगाड नगरपालिकामा योगेन्द्र चौधरी, शिवालय गाउँपालिकामा राजीव ढुंगाना, जुनिचाँदे गाउँपालिकामा कुन्दनराज काफ्ले, कुसे गाउँपालिकामा इन्जिनियर मोहन आचार्य, भेरी नगरपालिकामा उमेशजंग रायमाझी र छेडागड नगरपालिकामा नैनसिंह महर खटिएका छन्। null

त्यस्तै रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा अजयबाबु शिवाकोटी र सानोभेरी गाउँपालिकामा गुरु बराल खटिएका छन्। उनीहरू सबै पालिका पुगेर टहरा बनाउने कार्यमा लागिसकेको सहमहामन्त्री परियाले बताए।

स्थानीय नेता र कार्यकर्ता पनि नियमित रूपमा काममै खटिएको उनको भनाइ छ। मंसिरभित्रै एक हजार टहरा निर्माण गरिसक्ने कांग्रेसको लक्ष्य छ। अस्थायी आवास निर्माणमा स्थानीय काठ र बाँसको प्रयोग भइरहेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए। जस्तापाता किलाकाँटीलगायत अन्य सामग्री भने पार्टीले व्यवस्थापन गरेको उनले बताए।

कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले भेरी नगरपालिका–१ रिम्नामा रहेको भेरीत्रिवेणी माविमा सञ्चालन गर्ने गरी ६ कोठे अस्थायी कक्षाकोठा निर्माण गरिदिएको छ। अन्य दुई विद्यालय भवन निर्माण गर्ने संघका केन्द्रीय सदस्य ललित बस्नेतले बताए। पठनपाठन अवरुद्ध नहोस् भनेर भूकम्पले क्षतिग्रस्त तीन विद्यालयका अस्थायी कक्षाकोठा निर्माण गर्ने निर्णय गरेको उनको भनाइ छ।

सरकारले अस्थायी टहरा निर्माणका ५० हजार दिने निर्णय गरे पनि पीडितले अझै उक्त रकम पाउन सकेका छैनन्। पीडितहरू चिसोयाममा त्रिपालमै जीवनमरणका लागि संघर्ष गरिरहेका छन्।