Loading... आजः १८ बैशाख २०८१, मंगलवार

सडक निर्माणको बाधक बने रुखहरु

सुर्खेत – मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको बड्डीचौर–खब्बागाडे खण्डको कामले गति लिन सकेको छैन । समयमा सडक निर्माण नहुँदा सर्वसाधारणले अनावश्यक सास्ती खेप्दै आएका छन् ।

विभिन्न ठाउँमा जीर्ण सडकलाई फोडेर निर्माण कम्पनीले ग्राभेल गरेपछि पनि सर्वसाधारणले झनै सास्ती खेप्न परेको कहिले हिलो, कहिले धुलो बाटोमा पैदल हिँडडुल गर्न पनि समस्या भइरहेको स्थानियको गुनासो रहेको छ ।

उक्त सडकखण्डको १८ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । वित्तीय प्रगति १३ प्रतिशत छ । साढे १२ किलोमिटर सडकखण्डका लागि प्रदेश सरकारले ४२ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

उक्त खण्डमा अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रुपियाँ लागतमा प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको हो । २०७९ सालदेखि निर्माण काम सुरु भएको थियो ।

२०८१ साल असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । हालसम्म कामको प्रगति निकै न्यून रहेकाले समयमा नै सम्पन्न नहुनेमा शङ्का छ । सम्झौता अवधि सकिन केही समयमात्र बाँकी रहँदा ८२ प्रतिशत काम गर्न बाँकी नै छ । अहिलेसम्म साढे दुई करोड बजेट खर्च भएको छ ।

बाटो फराकिलो बनाउने, नाला निर्माण, ग्याबिन, कल्भर्टलगायतका काम भइरहेको पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर हरिशर्मा धितालले जानकारी दिए। उनका अनुसार लक्ष्य अनुसार काम अघि बढ्न सकेको छैन ।

यो सडकखण्डमा सात किलोमिटर जङ्गल क्षेत्र छ । रूख कटानको अनुमति नआएकाले छिटो काम गर्न नसकिएको भनाइ शर्माको छ । समयमा रुख कटान आदेश नभएर काममा ढिलाइ भइरहेको उनको भनाइ छ । यही गतिमा काम भए निर्माण अवधि थप दुई वर्ष पर धकेलिने निर्देशनालयको अनुमान रहेको छ ।