अमेरिकामा अंग्रेजीलाई राष्ट्रिय भाषाको मान्यता
अमेरिका – अंग्रेजी भाषालाई संयुक्त राज्य अमेरिकाको आधिकारिक भाषाको मान्यता दिने कार्यकारी आदेशमा राष्ट्रपति डोनाल्ड जे ट्रम्पले हस्ताक्षर गरेका छन्। अमेरिकाको इतिहासमा पहिलो पटक कुनै एक भाषालाई राज्यको आधिकारिक भाषाको मान्यता दिइएको हो।
शनिबार राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको यो कार्यकारी आदेशले अब अमेरिकाको केन्द्रीय प्रशासनिक निकायहरूलाई सेवा प्रवाहमा अंग्रेजी बाहेक अन्य भाषामा सेवा उपलब्ध गराउने वा नगराउने बारे छनौटको अधिकार प्रदान गरेको छ। संघीय अनुदान प्राप्त गर्ने सरकारी एजेन्सी र संगठनहरूलाई अंग्रेजी बाहेक अन्य भाषामा कागजात तयार पार्ने वा नपार्ने छनौटको सुविधा प्राप्त भएको छ। अंग्रेजीबाहेक अन्य भाषामा कागजात र सेवा प्रदान गर्न पूर्णतः रोक भने नलगाइएको ह्वाइट हाउसले जनाएको छ। राष्ट्रिय भाषाका रूपमा अंग्रेजीलाई घोषणा गरिनुले राष्ट्रिय एकता बलियो बन्ने र साझा संस्कृतिलाई बढावा पुग्ने ह्वाइट हाउसले दाबी गरेको छ।
राष्ट्रपति ट्रम्पको यो कदमले सन् २००० मा पूर्व राष्ट्रपति बिल क्लिन्टनले गैर अंग्रेजी भाषीहरूलाई भाषा सहायता प्रदान गर्न संघीय एजेन्सीहरू र संघीय अनुदान प्राप्त कर्ताहरूलाई आवश्यक पर्ने कागजात विभिन्न भाषामा तयार पार्नका लागि गरेको व्यवस्थालाई खारेज गरेको छ।
आफ्नो दोस्रो कार्यकाल प्रारम्भ सँगै आप्रवासीविरुद्व कडा कदम चालिरहेका राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालको पाँच हप्तामै अर्को दुरगामी महत्वको आदेश जारी गरेका हुन्। राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको सुरुवातमै ह्वाइटहाउसको बेवसाइटमा स्पेनिस भाषाका सामग्रीहरू हटाइएको थियो र भाषा छान्ने विकल्प समेत हटाइएको थियो। अमेरिकामा पछिल्लो ५० वर्षमा विभिन्न देशबाट सयौं भाषा बोल्नेहरू आएका छन्।
अमेरिकामा ३ सय ५० भन्दा बढी भाषा बोलिने अमेरिकी जनगणना ब्युरोको तथ्यांकले देखाउँछ। जसमा अंग्रेजी भने सबैभन्दा बढी बोलिने भाषा हो। झन्डै ७८ प्रतिशतले घरमा प्राथमिक भाषाका रूपमा अंग्रेजी बोल्ने गरेको ब्युरोको तथ्यांकले देखाउँछ। आप्रवासीहरूले मात्र अमेरिकामा आफ्नो देशमा बोलिने भाषा भिœयाएका छैनन्। अमेरिकामा ठूलो मात्रामा आप्रवासनको प्रक्रिया अघिदेखि नै यहाँ बसोबास गर्नेहरूले स्पेनिस, ई–अपोलेले नाभाजो, युपिक, डकोटा, अपाचे, केरेस, चेरोकी जस्ता भाषाहरू पनि बोल्दै आएका छन्। पछिल्लो समय चिनियाँ, हिन्दी, उर्दु, भियतनामी लगायतका भाषा बोल्नेहरूको संख्या पनि उल्लेख्य रहेको छ।
‘हाम्रो गणतन्त्रको स्थापना भएदेखि नै, अंग्रेजीलाई हाम्रो राष्ट्रिय भाषाका रूपमा प्रयोग गरिएको छ। त्यसैले अंग्रेजीलाई संयुक्त राज्य अमेरिकाको आधिकारिक भाषाका रूपमा घोषणा गरिएको धेरै समय बितिसक्यो,’ पहिलो पटक राष्ट्रिय भाषा घोषणा गरिए पनि कार्यकारी आदेशमा भनिएको छ, ‘अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका अनुसार अमेरिकी नागरिक बन्नका लागि नेचुरलाइजेसनको प्रक्रियामा अंग्रेजीबाट नै परीक्षा दिनुपर्ने हुन्छ। आधारभूत रूपमा अंग्रेजी पढ्न, लेख्न र बोल्न सक्ने क्षमतासहित अंग्रेजी भाषाको बुझाई प्रर्दशन गर्नुपर्ने हुन्छ।’ आदेशमा भनिएको छ, ‘अंग्रेजीलाई देशको आधिकारिक भाषा तोक्नाले नयाँ नागरिकलाई थप सशक्त बनाउनेछ, नयाँ आगन्तुकहरूलाई राष्ट्रिय परम्परामा भाग लिनसमेत सहयोग पुर्याउनेछ।’
अंग्रेजीलाई राष्ट्रिय भाषाको मान्यता दिएसँगै यसले आप्रवासीहरूमा ठूलो प्रभाव पर्ने भएको छ। खासगरी अदालती प्रक्रिया, मतदाता शिक्षा, राज्यद्वारा प्राप्त हुने सेवा सुविधा प्राप्तिको प्रक्रिया लगायतमा यसले प्रभाव पार्ने छ। हुनतः अमेरिकाका ३० राज्यले अंग्रेजीलाई आफ्नो आधिकारिक भाषा घोषणा गरिसकेका छन्। हवाई राज्यले मात्र अंग्रेजी सँगै हवाइएन भाषालाई राज्यको आधिकारिक भाषाको रूपमा स्वीकार गरेको थियो। अंग्रेजी भाषालाई आधिकारिक भाषाको रूपमा लिइए पनि विभिन्न राज्यले त्यहाँका बासिन्दाको उपस्थितिलाई हेरेर संख्यात्मक उपस्थितिमा जोड दिई उनीहरूले प्रयोग गर्ने भाषालाई समेत कागजातहरूमा समावेश गर्दै आएका छन्। कतिपय कार्यालयहरूले ट्रान्सलेटर (अनुवादक)को सुविधासमेत दिँदै आएका थिए अब त्यो सुविधासमेत अनिवार्य हुने छैन।
इन्टरनेसनल इन्स्टिच्युट फर डेमोक्रेसी एन्ड इलेक्टोरल असिस्टेन्सका अनुसार सरकारी कामकाजका लागि एक वा एकभन्दा बढी आधिकारिक भाषाहरू हुँदा राष्ट्रको चरित्र र त्यहाँ बसोबास गर्नेहरूको सांस्कृतिक पहिचान परिभाषित गर्न त्यसले मद्दत गर्छ। अंग्रेजी भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनका लागि यसअघि पनि प्रयास नभएका होइनन्। सन् २०२३ मा अहिलेका उपराष्ट्रपति जेडी भान्स सहितका कंग्रेस सदस्यहरूले अंग्रेजी भाषा एकता ऐन प्रस्तुत गरेका थिए। तर, त्यो सफल हुन सकेको थिएन।
संयुक्त राज्य अमेरिकामा अंग्रेजी राष्ट्रिय भाषाका रूपमा घोषणा गरिएसँगै अंग्रेजीबाहेक अन्य मातृभाषाका रूपमा प्रयोग गर्दै आएका समुदायहरू प्रभावित हुने भएका छन्। अन्य समुदायसँगै अमेरिकन नेपाली समुदायसमेत त्यसमा प्रत्यक्ष प्रभावित हुने भएको छ। अझ नेपाली भाषी यसको मारमा पर्ने भएका छन्।
ई-कर्णाली खबर
१९ फाल्गुन २०८१, सोमबार ११:३१