Loading... आजः ११ मंसिर २०८२, बिहीबार

दलहरूले आचारसंहिताको प्रगति बर्सेनि बुझाउनुपर्ने


काठमाडौं – निर्वाचन आयोगले राजनीतिक दल वा निर्वाचित उम्मेदवारले निर्वाचन घोषणापत्रमा उल्लेख भएबमोजिमको कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने नयाँ प्रावधानको प्रस्ताव गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले ‘निर्वाचन आचार संहिता, २०८२’ मस्यौदा बनाएर बहसका लागि सार्वजनिक गरेको छ।
आयोगले आचार संहितामा गरेको प्रस्तावअनुसार दल वा निर्वाचित उम्मेदवारले निर्वाचन घोषणापत्र प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने छ। आचारसंहिता मस्यौदा सुझावका लागि राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरूलाई पठाइएको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए।
‘निर्वाचन आचारसंहिता, २०८२’ मस्यौदाको परिच्छेद १० विविधअन्तर्गतको ३७ नम्बर बुँदामा निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। ‘राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी सोको आधारमा प्रचार–प्रसार गर्नुपर्ने छ। निर्वाचन घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने छ,’ निर्वाचन आयोगले मस्यौदा गरेको निर्वाचन आचार संहितामा उल्लेख छ, ‘निर्वाचन राजनीतिक दल वा निर्वाचित उम्मेदवारले निर्वाचन घोषणापत्रमा उल्लेख भएबमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने छ।’ निर्वाचन आचार संहिता—२०८२ मा प्राप्त सुझावसहित मस्यौदालाई अन्तिमरूप दिइने कार्यावाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए।
‘चुनावमा भोट लिएर नेता जितेर गयो, गाउँ फर्किएनन्’ भन्ने मतदाताको सदाबहार गुनासोलाई नयाँ प्रस्तावले सम्बोधन गर्ने अपेक्षा गरिएको छ। निर्वाचन आचार संहितामा गरिएको नयाँ प्रस्तावले राजनीतिक दल र विजयी उम्मेदवारलाई जिम्मेवार बनाउने आयोगको अपेक्षा छ। राजनीतिक दल र उम्मेदवारहरूले चुनावमा गरेको घोषणापत्र र प्रतिबद्धताको अनुगमन मतदाता एवं नागरिकबाटै गरिनुपर्र्नेमा निर्वाचनका जानकारहरूले बताएका छन्। यसका लागि आयोगले प्रस्ताव गरेको नयाँ व्यवस्थाले सहज हुने छ।

आयोगले निर्वाचन आचार संहिताका प्रावधानहरूका बारेमा दलहरूसँग गम्भीर रूपमा संवाद गर्नुपर्ने पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले बताए। ‘दलहरूलाई आयोगले चुनावमा अनुगमन गर्छ। अरू बेला खर्चहरूको लेखाजोखा कानुनअनुसार गर्न लगाउँछ। चुनावमा बदबासी गरेको भेटायो भने उम्मेदवारी खारेजीदेखि जितेका उम्मेदवारहरूको पदसमेत खारेज गरिदिएको अवस्था छ,’ उनले भने, ‘पार्टीका विचार, सिद्धान्तहरू पनि हुन्छ।

त्यसैअनुसार पार्टीहरू चलेका हुन्छन्। पार्टी र नेताहरू स्वयं जिम्मेवार हुनुपर्छ। मतदाताले आफूलाई मन परेको उम्मेदवार छानेर जिताउँछन्। त्यसैले आफ्ना प्रतिनिधिहरूको सार्वजनिक गरेको चुनावी घोषणापत्रकाबारे अनुगमन पनि मतदातबाटै निरन्तर गर्नुपर्छ। त्यसअनुसार नेताहरूलाई पनि प्रश्न गर्नुपर्छ।’ मतदाता सचेत भए मात्रै प्रजातन्त्रको सफल कार्यान्वयन हुने उनको भनाइ छ।

उनका अनुसार आयोगले चुनावमा पार्टी र उम्मेदवारको घोषणापत्र लिनु र जितेका उम्मेदवारले घोषणापत्रको कार्यान्वयनको उपलब्धि प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने प्रस्ताव निर्वाचन आचार संहिताको मस्यौदामा राख्नु प्रशंसनी रहेको बताए ।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिताको मस्यौदा बनाएको छ । ५५ बुँदे आचार संहिताको मस्यौदाका प्रस्ताव र प्रावधानहरू जम्मा ४१ वटा पृष्ठमा वर्णन गरिएका छन्।

समानुपातिक पहिला, त्यसपछि प्रत्यक्षको चुनावी कार्यक्रम
आसन्न प्रतिनिधिसभा सदस्यको चुनावका लागि निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ। आगामी फागुन २१ गते २ सय ७५ सिटका लागि चुनाव हुँदै छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १ सय ६५ सिट र समानुपातिकतर्फ १ सय १० सिटका लागि निर्वाचन हुँदैछ। यसका लागि आयोगले फरक–फरक निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। त्यसअनुसार समानुपातिकतर्फको निर्वाचन कार्यक्रम मंसिर २० गतेबाट सुरु हुने छ। त्यसैगरी प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम माघ ६ गते उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएसँगै सुरु हुने निर्वाचन आयोगले जनाएको छ।

माघ ६ मा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा सदस्यअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको चुनानमा सहभागी हुने उम्मेदवारहरूले माघ ६ गते उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ। बिहान १० बजेदेखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गराउनुपर्ने आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका छन्।

उनका अनुसार उम्मेदवारी दर्ता भएको दिन बेलुका ७ बजेभित्रमा उम्मेदवारको सूची प्रकाशन गरिने छ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने समय सीमा तोकिएको छ। माघ ८ गतेसम्म बेलुका ५ बजेसम्म भित्रमा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी सोही दिन साँझ ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिने छ।

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछ। त्यसपछि सोही दिन ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ। साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन कार्यालयले निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

पुस १३ र १४ मा समानुपातिक बन्दसूची पेस

पुस १३ र १४ गते समानुपातिक निर्वाचनमा सहभागी हुने दलहरूले उम्मेदवारहरूको बन्द सुरु पेस गर्नुपर्ने तालिका तोकिएको छ। बिहान १० बजेदेखि ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवाको बन्दसूची पेस गर्नुपर्ने आयोगका प्रवक्ता भट्टराईले जनाए। उनका अनुसार यसका लागि आयोगले मंसिर २० गतेबाटै निर्वाचनको प्रक्रिया सुरु गर्ने छ। मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले आयोगमा निवेदन पेस गर्नुपर्ने तालिका छ।

मंसिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावाली प्रकाशन गरिने आयोगले जनाएको छ। पुस १३ र १४ गते बिहान १० बजेदेखि ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने र माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको अन्तिम बन्दसूची नामावलीको रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ। स्वीकृत निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

६३ दल निर्वाचनमा भाग लिन तयार
फागुन २१ गतेको निर्वाचन प्रयोजनका लागि दल दर्ता हुन आउनेको संख्या ६३ पुगेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने प्रयोजनका लागि मंसिर १० गतेभित्र आयोगमा दल दर्ता गरिसक्नुपर्ने समय सीमा तोकिएको छ। यसैबीच जेन–जी आन्दोलनपछि निर्वाचन आयोगमा १८ वटा नयाँ दल दर्ता भएका छन्। यो सँगै आयोगमा दर्ता हुने दलको संख्या १३५ पुगेको आयोगले जनाएको छ। अझै २० वटा नयाँ दल दर्ताका लागि प्रक्रियामा छन्।