‘नागरिक एप’ सञ्चालनमा
कालिकोट / सरकारले जनतालाई हातहातमै सरकारी सेवा दिने भन्दै ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ । सम्भव भएसम्मका सबैखाले सरकारी सेवाहरू एकीकृत तथा अन्तरआबद्ध गरी एउटै प्लेटफर्मबाट दिन ‘नागरिक एप’ सञ्चालनमा ल्याएको हो ।
हाललाई परीक्षणका रूपमा सार्वजनिक गरिएको एपबाट प्यान कार्ड प्राप्त गर्न, आफूले तिरेको करको विवरण हेर्न तथा नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सकिनेछ ।
त्यस्तै, नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरूको जानकारीसमेत लिन सकिनेछ । नागरिक एपबाट हेल्लो सरकारमा गुनासो गर्न तथा गुनासो सम्बोधन भए–नभएको समेत हेर्न सकिनेछ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुक्रबार ‘नागरिक एप’को बेटा भर्सन (परीक्षण रूप) शुभारम्भ गर्दै तीन महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताए । एपमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्रलगायतका आमनागरिकसँग सरोकार हुने सेवाहरू क्रमशः थप्दै लगिने उनले जानकारी दिए ।
‘नागरिक एप राष्ट्रिय गौरवको कार्यक्रम हो, यसले राज्यबाट नागरिकलाई दिने सेवालाई सरल, छिटो–छरितो र कम खर्चिलो बनाउनेछ,’ मन्त्री गुरुङले भने, ‘भौतिक लाइन होइन, अनलाइनबाट सेवा दिने उद्देश्यका साथ सरकारले नागरिक एप सञ्चालनमा ल्याएको हो ।’









ई-कर्णाली खबर
३ माघ २०७७, शनिबार ०५:०७