Loading... आजः २२ मंसिर २०८२, सोमबार

भारतीय रक्षामन्त्री सिंहसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री सिंहलाई भेटेका हुन् ।

 

 

 

नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि उपस्थित छन् । भेट बिहान साढे नौ बजेदेखि सुरु भएको थियो ।

 

परराष्ट्रमन्त्री ज्ञवालीसँग उल्लेखनीय भेटवार्ता भएको भारतीय रक्षामन्त्री सिंहले बताएका छन् । परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटका तस्बिरहरु ट्विटरमा राख्दै सिंहले लेखेका छन्, ‘भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन । यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ । भारत-नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ ।’

 

 

 

दिल्लीस्थित नेपाली दूतावासका अनुसार ज्ञवाली स्वदेश फर्किनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नका लागि प्रयास भइरहेको छ । मन्त्री ज्ञवाली आजै अपरान्ह नेपाल वायु सेवा निगमको विमान बाट स्वदेश फर्कने कार्यक्रम छ ।

 

 

 

शनिबार बिहान ज्ञवालीले नेपाली दूतावासमा भारतीय पत्रकारहरुसँग अन्तरक्रिया गरेका थिए । त्यहाँ उनले नेपालले सुगौली सन्धिलगायत एतिहासिक प्रमाण का आधारमा नयाँ नक्सा प्रकाशित गरेको दाबी गरेका थिए ।

 

 

त्यस्तै शुक्रबार परराष्ट्रमन्त्रीस्तरीय नेपाल-भारत स‌ंयुक्त आयोगको बैठक सम्पन्न भएको थियो । बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवालीले गरेका थिए भने भारतीय टोलीको नेतृत्व विदेशमन्त्री एस जयश‌ंकरले गरेका थिए ।  kantipur