Loading... आजः २२ मंसिर २०८२, सोमबार

जग्गाधनीलाई जानकारी नै नदिइ यसरी बेचियो जग्गा

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर– १२, साबिक जर्बुटा वडा नम्बर– ३ (क)मा रहेको कित्ता नम्बर ३१११ को जग्गा २०७७ असार ८ गते कित्ताकाट भयो ।

 

उक्त, जग्गा वीरेन्द्रनगर–६ का सौगात रावतको हो । जग्गाको कित्ताकाट हुँदा अथवा किनबेच गरिँदा जग्गाधनी र मोही (जग्गा किन्ने व्यक्ति) बीच आपसी सहमतिमा सयुंक्त निवेदन दिएको अवस्थामा सोही बमोजिम मालपोत कार्यालयले जग्गा नामसारी गराईदिन सक्छ । तर, जग्गाधनी रावतलाई कुनै जानकारी नै नदिइ उनकै नाममा भएको उक्त जग्गा अरुकै नाममा नामसारी भयो ।

 

 

रावतले २०७७ पुस २९ गते जग्गाको नक्सा पास निकाल्दा कम्प्युटर सिस्टममा उनीसँग भएको जग्गाको कित्ता नम्बर नभेटिएपछि बल्ल आफ्नो जग्गा नामसारी भएर अर्कै व्यक्तिको नाममा पुगिसकेको थाहा पाए ।

 

रावतले रातोपाटीसँग भने, ‘नक्सा लिन नापी कार्यालयको कम्प्युटर सिस्टममा कित्ता नम्बर भिडाउँदा नभेटिएपछि खोजी गरेको हुँ । नापी शाखाका प्रमुख राजेन्द्र थापाको सहयोगमा जग्गा भएको क्षेत्रको ट्रेस नक्सा हेर्दा जग्गा ६ कित्तामा बाँडिएको थाहा पाइयो ।’

 

 

 

दैलेखको महाबु गाउँपालिका वडा नम्बर–३ बाँसी स्थायी घर भई हाल वीरेन्द्रनगर–१ बस्ने सहवीर कार्कीको नाममा उक्त जग्गा नामसारी भएको पाइएको जग्गाधनी रावतले बताए । रावतका अनुसार ६ कट्ठा क्षेत्रफल भएको उक्त जग्गाको पछिल्लो भाग छोडेर मूल बाटोको ५० मिटर मोहडामा पर्ने जग्गा कार्कीको नाममा नामसारी भएको हो ।