रुकुम पश्चिमको राडी बजार तनावग्रस्त, प्रशासनद्वारा निषेधाज्ञा
६ माघ, सुर्खेत । रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजारक्षेत्र मंगलबार दिनभर तनावग्रस्त बन्यो । नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीचको विवादले उग्ररुप लिँदा राडी बजार क्षेत्र दिनभर तनावग्रस्त बन्न पुगेको थियो ।
सामान्य विषयमा सुरु भएको विवादले उग्ररुप लिन थालेपछिस्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको रुकुम पश्चिमका डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।
नेकपा प्रचण्ड–माधव समूह निकट आठबीसकोट नगरपालिका–२ का अध्यक्ष मानबहादुर चदाराको टोलीले वडा नम्बर–९ का कांग्रेस निकट वडाध्यक्ष तारक शाहीलाई गएराति आक्रमण गरेपछि विवाद उत्पन्न भएको स्थानीय युवा शिव केसीले बताउनु भयो ।
दुई पक्षबीचको विवादबाट हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालयले मंगलबार साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिनु भयो ।

प्रशासनले मंगलबार साँझ ५ बजेदेखि पूर्वमा घारी खोला, पश्चिममा ठूलीभेरी, उत्तरमा दाजे र दक्षिणमा सीम बजार क्षेत्रसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा सभा, जुलुस, भेला तथा प्रदर्शन गर्न पाइँनेछैन ।jwalakhabarबाट साभार









ई-कर्णाली खबर
६ माघ २०७७, मंगलवार १६:०३