Loading... आजः २२ मंसिर २०८२, सोमबार

गोठीगाउँमा तीन करोडको क्षति, २५६ परिवारको बिचल्ली

जुम्ला / तिला गाउँपालिका–७ गोठीगाउँमा मंगलबार साँझ साढे ५ बजे भीषण आगलागी हुँदा ३२ घर जलेर नष्ट भएका छन् । स्थानीय बरब रोकायाकोे चुलोको पाइपबाट एक्कासि सल्किएको आगोले गाउँ नै खरानी बनाएको हो । गोठीगाउँमा रहेका जम्मा ५४ घरधुरीमध्ये ३२ घर एकाएक खण्डहरमा परिणत हुँदा सयौं स्थानीयको विचल्ली भएको छ ।

 

स्थानीय परिमल रोकायाले भने, “गोठी गाउँका ३२ घर खरानी भएपछि ३२ घरका २ सय ५६ घरपरिवारको बिचल्ली भएको छ । शरिरमा लगाएको बाहेक न त आँगनमा लगाउने लत्तो छ, न खाने गाँस नत बस्ने बास छ । कठ्यांग्रिँदो जाडोमा घरबारविहीन बन्न पुगेका बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी पीडित बनेका छन् ।”

 

जुम्ला सदरमुकाम देखि ४२ किलोमिटर टाढा पश्चिममा पर्ने गोठीगाउँका २ सय ५६ घरपरिवार विस्थापित भएका छन् । आगोले जल्न बाँकी रहेका घरमा कोचिएर बसेका छन् । अधिकांश खुला आकाशमुनि त्रिपाल टाँगेर बस्न बाध्य भएको रोकायाले उल्लेख गरे । आगलागीले दुईवटा घरमा सामान्य क्षति पुगेको छ । ३० घर जलेर पूर्णरुपमा नष्ट भएको र बाँकी २२ घरलाई आगलागीबाट बचाउन सफल भएको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक नवीन थापामगरले बताए ।

 

गाउँमा सडक पुगेपनि तिला नदीमा पुल नहुँदा दमकल, सुरक्षाकर्मी समयमै आउन सक्ने अबस्था छैन । जसका कारण हेर्दा हेर्दै घर खरानी भएको स्थानीय गोविन्द रोकायाले दुखेसो गरे । गोविन्द रोकाया जस्तै लाल बहादुर रोकाया, परिमल रोकाया, बल रोकाया, धन बहादुर रोकाया, परे रोकाया लगायत ३२ जनाको घर जल्दा विस्थापित भएका हुन् ।