कांग्रेसले आज शान्तिपूर्ण आन्दोलन गर्दै
काठमाडौं : प्रतिनिधिसभा विघटन र सरकारले गरेको संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध आज कांग्रेस सम्बद्ध भातृ संस्थाले प्रदर्शन गर्दैछन्। एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भातृ संस्थाको प्रदर्शन शनिबार गर्न लागिएको जानकारी दिए।
देशभरका सदरमुकाममा कालो पट्टी, मास्कसहित नारा लेखिएको प्ले कार्ड छातिमा टाँसेर मौन रुपमा विरोध प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ। काठमाडौंको भद्रकालीमा भेला भइ मानवसाङ्लोमा टुँडीखेल घेर्ने कार्यक्रम पनि रहेको छ।
बिहीबार प्रचण्ड–नेपाल समूहले गरेको नेपालबन्दप्रति पनि लक्षित गर्दै जनतालाई दुःख नदिएर कांग्रेस शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको शर्माले बताए। ‘नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्तिविरुद्ध कांग्रेस संसद् र सडक दुवै ठाउँमा सालीन ढंगले प्रस्तुत हुँदै आयो।
अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं’, विज्ञप्तिमा भनिएको छ, ‘संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ़ छौं। विघटन विरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपील समेत गर्न चाहन्छौं।’
प्रतिनिधिसभा विघटन, त्यस विरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथ ग्रहणका तीन विषयमा गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरुमा अझ व्यापक बनाउने कांग्रेसले जनाएको छ।









ई-कर्णाली खबर
२४ माघ २०७७, शनिबार ०६:१५