चट्टान फोड्दै, मोटर गुडाउँदै

कालिकोट : राजनीतिक दल र नेताका लागि सदाबहार नारा बन्यो ‘कर्णाली करिडोर’। तर धेरै वर्ष बिते। कालीकोटबाट बाजुरा हुँदै हुम्लासम्म जोड्ने यो सडक निर्माणमा तत्कालीन नेतृत्वले चासो दिएनन्। त्यसको परिणाम सर्वसाधारणले सास्ती भोगे। सडक सुविधा नहुँदा हुम्ला र बाजुराका नागरिक हप्तौंसम्म पैदल हिँडे।
हुनेले त जहाज चढ्थे। नहुनेहरू भने सकिनसकी पैदलै हिँड्थे। अस्पतालसम्म पुग्ने बाटो थिएन। स्थानीयले बिरामीलाइै डोकोमै बोकेर अस्पतालसम्म लगे। यही क्रममा कति बिरामीहरूको त बाटोमै ज्यान गयो। नुन र तेल बोक्दै स्थानीयले आफ्ना दिन बिताए। तर अहिले हुम्लाका नागरिक आफ्नै आँगनमा मोटर देख्न पाइनेमा ढुक्क छन्। गाडी चढ्ने स्थानीयको सपना पूरा गर्ने कसरत जारी छ। पछिल्लो समय कर्णाली करिडोरको निर्माणमा भएको प्रगतिले पनि कर्णालीवासीको मोटर चढ्ने सपना चाँडै पूरा हुने देखिएको हो।
हालसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएको देशको एक मात्र जिल्ला हो हुम्ला। हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने कसरतले अब चाँडै पूर्णता पाउने भएको छ। यसैका लागि पछिल्लो समय नेपाली सेनाले सडक निर्माणलाई तीव्रता दिएको छ। निकै कठिन मानिएको यो सडकअन्तर्गत अक्करे भीर छिचोल्दै र कडा चट्टान फोड्दै सेनाले सडक खनिरहेको छ। नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिएको कर्णाली करिडोरको अधिकांश स्थानमा हाल साना जिप सञ्चालनमा आएका छन्। यसले स्थानीयलाई सहज भएको छ।
निर्माण पूरा र स्तरोन्नतिको काम बाँकी नै रहे पनि कर्णाली करिडोरमा गाडी गुड्न थालेपछि कालीकोट, बाजुरा र हुम्लाका नागरिकको जीवनस्तरमा सुधार आउन थालेको छ। आंशिक रूपमा भए पनि सर्वसाधारणले गाडी चढ्न पाएका छन्। बिरामीलाई डोकोमा बोक्नुपर्ने बाध्यता टरेको छ।
गाडी र एम्बुलेन्स चल्न थालेका छन्। भारी बोक्नुपर्ने समस्या टरेको छ। विकास निर्माणका सामान ढुवानीमा पनि सहज भएको छ। करिडोरमा मोटर गुड्न थालेसँगै कालीकोट, बाजुरा र हुम्लासम्म विकास निर्माणका लागि आवश्यक पर्ने सामान ढुवानी हुन थालेको छ। यसले दुर्गममा पनि भौतिक विकासले गति लिएको छ। समग्रमा कर्णालीवासीका लागि कर्णाली करिडोर भाग्यमार्ग नै बनेको छ।
करिडोर निर्माणको जिम्मा लिएको करिब ६ वर्षको अवधिमा सेनाले ठूलाठूला चट्टान फोड्दै १ सय २० किलोमिटर सडकमा हाल गाडीसमेत गुडाइसकेको छ। हाल कालीकोटको लालीघाट बजारदेखि बाजुराको हिमाली गाउँपालिकाको लेबडीसम्मको ७८ किलोमिटर सडकमा सार्वजनिक यातायात सञ्चालन भइसकेको छ।









ई-कर्णाली खबर
१ फाल्गुन २०७७, शनिबार १५:४२