Loading... आजः २१ मंसिर २०८२, आईतवार

डा. रिजालले भने : ‘हामी दुवैमा कोरोना संक्रमण छ, तर भयभीत छैनौं’

काठमाडौं । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालले आफू र श्रीमती कोरोना संक्रमित भएपनि भयभीत नभएको बताएका छन् । बुधबार बिहान आफ्नो फेसबुक एकाउन्टमा डा. रिजालले श्रीमतीसँगको फोटो पोस्ट गर्दै लेखे छन्, ‘हामी दुबै आज कोरोना संक्रमित भएका छौं तर थोरै पनि भयभित छैनौं । हामीलाई मात्र होइन, सबैले अरुलाई पनि हौसला दि‌ऊँ । संक्रमितहरुको मनोवलका साथै स्वास्थ्यकर्मी जो आफ्नो जीवन राष्ट्रको लागि समर्पण गरिरहेका छन्, सबैलाई सलाम छ ।’

उनले आफू स्वास्थ्यकर्मी भएकाले आफ्नो जीवन आफ्नो हातमा नहुने मात्र नभइ आफ्नो परिवार समेत उत्तिकै जोखिममा रहेको समेत बताएका छन्। ‘म एउटा स्वास्थ्यकर्मी। हाम्रो जीवन आफ्नो हातमा कहाँ हुन्छ र हामी आफू मात्र होइन हामीबाट हाम्रा परिवार समेत उत्तिकै जोखिममा रहन्छन्, ‘उनले भनेका छन्।

उनले आफूलाई आशिर्वाद, स्वास्थलाभको शुभकामना व्यक्त गर्ने सबैलाई धन्यवाद भन्दै अग्रपङ्तिमा खटिएकाहरुमा उच्च मनोवलका साथ काममा हौसला मिलोस् भन्दै शुभकामना समेत व्यक्त गरेका छन्।

डा. रिजाल र उनकी पत्नीलाई यही भदौं १४ गते स्वाब नमूना परीक्षण गराएका थिए। रिपोर्ट पोजिटिभ आएपछि रिजाल दम्पती भदौ १४ गते आइतबारबाट ह्याम्स अस्पतालको आइसोलेसनमा बसेका छन्। लक्षण नदेखिएको भएपनि उमेरका कारण केही परिहाल्यो भने अप्ठेरो होला भनेर अस्पतालमै भर्ना भएको जानकारी दिएका थिए।