डा. केसीले स्थगित गरे सत्याग्रह
जुम्ला। बिहीबारदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका डा. गोविन्द केसीले अन्ततः सत्याग्रह स्थगित गरेका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै डा.केसीले केही समयका लागि सत्याग्रह स्थगन गरेको जनाएका छन् ।
‘कोरोनाको महामारी फैलिँदै जाँदा जुम्लावासीको विशेष आग्रहलाई मध्यनजर गर्दै सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरिएको छ’ विज्ञप्तिमा उनले भनेका छन् ।
डा. केसीले महामारीका बेलामा निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै स्वास्थ्यकर्मीलाई नियमित सेवा–सुविधाका साथै जोखिम भत्ता दिन सरकारलाई आग्रह गरेका छन् ।
गत साउन ११ गते जुम्लामा पत्रकार सम्मेलन गरेर ३ बुँदे माग सार्वजनिक गरेका डा. केसीले तीन सातासम्म सरकारले ती माग पूरा नगरे जुम्लामै सत्याग्रह बस्ने बताएका थिए । त्यस्तै साउन ३२ गते पुनः पत्रकार सम्मेलन गर्दै भदौ ११ गते अनशनको समय सारिएको थियो ।
भदौ ११ गते स्थानीय प्रशासनको अनुरोध भन्दै एक साताको लागि सारेका थिए । डा. केसीले बिहीबार पुनः केही समयका लागि स्थगन गरिएको बताएका हुन् ।









ई-कर्णाली खबर
१८ भाद्र २०७७, बिहीबार १२:४१