Loading... आजः २ बैशाख २०८१, आईतवार

भगवान खुसी पार्न भन्दै शरीरमा सयौँ प्वाल

मलेसियामा तमिल समुदायहरुले थइपुसम नामक पर्व निकै धुमधामसँग मनाउँदछन् । लाखौँ श्रद्धालुहरु उक्त पर्वमा सहभागी हुन्छन् । सो पर्वमा भगवान मुरुगनलाई खुसी पार्नका लागि भन्दै भक्तजनले आफ्नो सरीरमा तिखो सुइरोहरुले खोपेर सयौँ प्वाल पार्दछन् ।

भगवान मुरुगनका भक्तहरुका लागि यो पर्व सबैभन्दा महत्वपूर्ण पर्व हो । दक्षिण भारत, श्रीलंका र सिंगापुरमा समेत यो पर्व मनाइन्छ । तर मलेसियाको राजधानी क्वालालम्पुर नजिकै पर्ने बातु गुफामा मनाइने थइपुसम पर्व सबैभन्दा विशेष हुन्छ ।

उक्त क्षेत्रमा सन् १८९२ देखि थइपुसम पर्व मनाउने गरिएको हो । हरेक वर्षको सुरुआतमा करिब १५ लाख श्रद्धालुहरु पर्व मनाउनका लागि केही दिनकै लागि उक्त ठाउँमा पुग्ने गर्दछन् ।

उक्त उत्सवका बेला हजारौँ मानिसहरु ढोलक तथा बाजा बजाएर नाचगान गर्दछन् र गुफातर्फ अगाडि बढ्दछन् ।

गुफाको तल बनेको मूख्य द्वारबाट भित्र पसेर उनीहरुले भगवान मुरुगनको मूर्तिको दर्शन गर्दछन् र त्यसपछि २ सय ७२ वटा सिँढी चढेर गुफाको भित्र बनेको मन्दिरमा जान्छन् ।

यो पर्वका बेला कतिपय भक्तजनले ४८ दिनसम्म उपवास तथा पुजापाठ समेत गर्दछन् । केही श्रद्धालुहरुले अर्ध गोलाकार फ्रेममा रहेको तिखा किलायुक्त वाण बोक्दछन् अनि त्यसका तिखा किलाहरु आफ्नो सरीरमा घुसाउँछन् । अरुले हेर्दा निकै दर्दनाक लाग्ने यो दृश्य श्रद्धालुहरुका लागिचाहिँ उक्त पर्वको मूख्य र पवित्र हिस्सा हो ।

केही श्रद्धालुहरुले चाहिँ शिरमा दुधको भाँडो लिएर परिक्रमा गरिरहेका हुन्छन् भने कतिपयले शिर मुण्डन गरेर प्रार्थना गर्दछन् ।

एजेन्सीबाट