Loading... आजः ४ बैशाख २०८१, मंगलवार

विवादमा फसे ट्रम्प, युद्धमा मारिएका अमेरिकी सैनिकलाई भने– हरुवा

काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनाव नजिकिएको बेला डोनाल्ड ट्रम्प गम्भीर विवादमा फसेका छन् । युद्धमा मारिएका अमेरिकी सैनिकलाई ‘हरुवा’ र ‘बुद्धु’ भनेपछि अमेरिकी राष्ट्रपति ट्रम्प विवादमा परेका हुन् ।

ट्रम्पको यो अभिव्यक्ति सम्बन्धी समाचार सबैभन्दा पहिले ‘द एटलान्टिस’ पत्रिकाले छापेको थियो । त्यसपछि एसोसिएटेड प्रेस (एपी) र फक्स न्युजले पनि सो समाचार छापेका थिए ।

समाचार सार्वजनिक भएपछि अमेरिकी सेनाका पूर्व सैनिकहरुले ट्रम्पको आलोचना गरेका छन् । प्रगतिशील समूह वोटवेट्सले एक भिडियो पोस्ट गरेको छ, जसमा युद्धमा आफन्त गुमाएका परिवारहरुको प्रतिक्रिया छ । एक जनाले ट्रम्पलाई भनेका छन्, ‘तपाईंलाई के थाहा बलिदान के हुन्छ भन्ने कुरा ?’

यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्प र उनका सहयोगीहरुले त्यस्तो अभिव्यक्ति नदिएको भनेर खण्डन गर्दै आएका छन् । तर विश्लेषकहरुले यो विवादका कारण ट्रम्पलाई राष्ट्रपतिमा दोहोरिन समस्या हुने बताएका छन् ।

द एटलान्टिस पत्रिकाका अनुसार सन् २०१८ मा पेरिसस्थित अमेरिकी सैनिकको स्मारक स्थलमा जाने ट्रम्पको कार्यक्रम थियो तर उनले ‘हारेका मान्छेले भरिएको ठाउँ’ भन्दै उक्त कार्यक्रम रद्द गरेका थिए ।

ट्रम्पले भने– फेक न्युज

पत्रिकाले चार स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ट्रम्पले त्यहाँ जाने कार्यक्रम किन रद्द गरे भने त्यतिबेला भारी वर्षा भइरहेको थियो र ट्रम्पलाई बर्षाले आफ्नो कपाल बिग्रिने चिन्ता थियो । साथै युद्धमा मारिएका अमेरिकीलाई सम्मान गर्ने कुरा उनका लागि महत्वपूर्ण थिएन ।

त्यतिमात्रै होइन ट्रम्पले बेलेयुवुडमा मारिएका १८ सय अमेरिकी सैनिकलाई बुद्धु पनि भनेका थिए । यसै युद्धको क्रममा नै पहिलो विश्व युद्धमा जर्मन सेना पेरिसम्म पुग्न पाएन । ती दुश्मनलाई रोक्ने ती सैनिकलाई अमेरिकी मरीन कर्प्सबाट सम्मानित गरिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रिकामा छापिएका समाचारलाई ‘फेक न्युज’ भनेका छन् । उनले शुक्रबार पत्रकारहरुसँग भने, ‘हाम्रा सेनाविरुद्ध मैले नकारात्मक अभिव्यक्ति दिन सक्छु, मैले हाम्रो हिरोविरुद्ध अभिव्यक्ति दिन सक्छु, भन्ने सोच्नुभन्दा अगाडि मैले बजेटमा के गरें त्यो हेरियोस् । मैले सैन्य बजेट बढाएँ, सैनिकहरुको तलब बढाएँ । मैले बजेटमा जे गरें, त्यो अरु कसैले गरेका थिएनन् । पत्रिकाबाट भएको यो काम घृणित हो र यो बेकारको पत्रिका हो ।’

– बीबीसी