Loading... आजः ४ बैशाख २०८१, मंगलवार

कालिकोटमा धान रोपाइँ चटारो,

कालिकोट : कालिकोटमा असार तेस्रो सातासम्म ८० प्रतिशत खेतमा धन रोपाइँ सकिएको छ । यस वर्ष जेठ अन्तिम साताबाटै सुरु गरिएको रोपाइँ असारको तेस्रो सातासम्म ८० प्रतिशत सकिएको हो ।

 

जिल्ला कृषि विकास कार्यालय कालिकोटका अनुसार बर्षेनि खडेरी पर्दा असारमा रोपाइँ सुरु गरेर साउन भदौसम्म रोपाइँ सकिन्थ्यो । यस वर्ष भने असारमै जिल्लाभरी रोपाइँ हुने सबै खेतहरु रंगिएका छन् । समयमै रोपाइँ सकिदा किसान पनि खुसी भएका छन् । कार्यालयका अनुसार जिल्लामा धान खेति हुने जमिनको २० प्रतिशत मात्र जग्गामा रोपाइँ हुन बाँकी छ ।

 

 

त्यो पनि असार महिनाको अन्तिमसम्म रोपिसकिन्छ । आकाशे पानीको भरमा खेती हुने जमिनमा पनि यस वर्ष समयमै रोपाइँ भएको छ । जेठ महिनामा सधै खडेरीको समस्या हुने कालिकोटमा यस वर्ष झण्डै २५ वर्ष पछि जेठ महिनामा भारी वर्षा भएको हो ।

 

 

तिलागुफा नगरपालिका १० का स्थानीय किसान धर्मराज शाहीले यस वर्ष असारमै रोपाइँ सम्पन्न भएकाले खुसी लागेको बताए । उनले भने, ‘वषौँदेखि जेठ असारमा खडेरी परेर वर्षेबाली लगाउन समस्या हुन्थ्यो । साउन भदौमा लगाएको बालीले उत्पादन पनि कम दिन्थ्यो ।’

 

 

यस वर्ष सिजनमै पानी परेकाले बाली लगाउने काम सकिएको छ । यस वर्ष वर्षे बालीको उत्पादनमा पनि राम्रो हुने अपेक्षा किसानले गरेका छन्।

कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत बस्नेतले यस वर्ष कालिकोटमा धान उत्पादनमा भारी वृद्धि हुने बताए । समयमै रोपाइँ सकिएको र वर्षा पनि प्रयाप्त भएकाले उत्पादनमा वृद्धि हुने उनले बताए ।

 

उनका अनुसार जिल्लामा कुल १७ हजार ९ सय ८४ हेक्टर खेतियोग्य जमिन रहेको छ । जस अन्तरगत पनि ८ हजार ७ सय ५० हेक्टर जमिनमा मात्र खेति भइरहेको छ । जसमा कुल धान खेती हुने २ हजार ५ सय १५ हेक्टर जमिन रहेकोमा हालसम्म २ हजार १२ हेक्टर जमीनमा धान रोपाइँ सकिएको छ । जिल्लामा अझै ५ सय ३ हेक्टर जमिन रोपाइँ हुन बाँकी छ ।

 

 

जिल्लामा कुल ८ हजार ७ सय ५० हेक्टर जमिनमा मात्र खेति भइरहेको छ । जस अनुसार २ हजार ५ सय १५ हेक्टर जमिनमा धान खेती हुने र अरु बाँकी जग्गामा मकै कोदो फापर, सिमी लगायतका रैथाने बालीहरु लगाउने गरिएको कृषि प्राविधिक प्रशुराम काफ्लेले बताए ।

 

 

उनले धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले यसको महत्व पढ्दै जाने बताए । धानको उत्पादन वृद्धि हुँदा कूल ग्राह्रथ्य उत्पादनमा टेवा पुग्छ । धानको उत्पादन घट्दा आर्थिक स्थिति घट्छ । हाल कालिकोटमा कुल २३ हजार १३ घर परिवारमध्ये १२ हजार घरपरिवारलाई मात्र खान पुग्छ छ । बर्षेनि खाद्य संस्थानले ४६ मेट्रिक टन कालिकोट बाजुरा हुम्ला मुगुका लागि चामल आयत गरिरहेको छ ।