Loading... आजः २२ बैशाख २०८१, शनिबार

कोरोना जित्नेको संख्या बढ्दै २४ घण्टामा २२ सय ८७ डिस्चार्ज : ९०२ संक्रमित

काठमाडौं ।  नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण जित्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २२ सय ८७ जना डिस्चार्ज भएका छन् । ९०२ जनामा संक्रमण पुष्टि हुँदा २२ सय बढी डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुग्दा डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । कोरोना जित्नेको यो संख्या ६८.५ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए। पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३०६  पुगेको छ ।

२४ घण्टामा १० हजार ६११ जनाको पीसीआर परीक्षण गरिएको छ। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ। अहिले होम आइसोलेसनमा ६ हजार ८१५ रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ५३ जना रहेका छन्।

नेपालमा पीसीआर परीक्षणको संख्या ७ लाख ८८ हजार १७४ पुगेको छ। अहिले क्वारेन्टाइनमा ५ हजार ३१० जना रहेका छन्।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, धनुषा, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन्। त्यसैगरी  ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा संक्रमण शून्यमा झरेको छ।