Loading... आजः १७ बैशाख २०८१, सोमबार

नेपाल-भारत सम्बन्धमा चिनियाँ राजदूतको गैरकूटनीतिक अभिव्यक्ति

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल-भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति विवादास्पद् अभिव्यक्ति दिएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कूटनीतिक मर्यादा विपरीत नेपाल-भारतबीचको सम्बन्ध र व्यापारमा खलल पुर्‍याउनेगरी टिप्पणी गरेका हुन्।

राजदूत सोङले नेपाल र भारतबीच भइरहेको विद्युत व्यापारका बारेमा गैरकूटनीतिक भाषामा टिप्पणी गरेका हुन्। नेपालले भारतभन्दा चीनको अर्थतन्त्रबाट आर्थिक समृद्धि हासिल गर्नसक्ने उनको भनाइ छ।

‘नेपालले भारतलाई गत आर्थिक वर्षमा दस अर्बको विद्युत निर्यात गर्‍यो जबकि नेपालले भारतबाट १९ अर्बको विद्युत आयात गर्‍यो। भारतसँग भइरहेको विद्युत व्यापारबाट नेपालले घाटा व्यहोरी रहेको छ। यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छ?,’ चिनियाँ राजदूत सोङले प्रश्न गरे।

केही नेपाली कूटनीतिज्ञहरूले नेपाल र भारतको सम्बन्धमाथि चिनियाँ राजदूतले गरेको टिप्पणी आपत्तिजनक भएको बताए। एक पूर्व राजदूतले अन्नपूर्णसँग भने, ‘नेपाल-भारतबीचको ऐतिहासिक सम्बन्धमाथि चिनियाँ राजदूतको टिप्पणी असोभनीय छ।’

राजदूत सोङले नेपाल ऊर्जा क्षेत्रमा सक्षम रहे पनि उल्टै भारतबाट ठूलो पुँजीमा विद्युत आयात गरिरहेको बताए। ‘भारतसँगको विद्युत व्यापारमा नेपाल घाटामा छ। गर्व गर्ने क्षेत्रमै घाटा खाइरहेको नेपालले अर्थतन्त्रमा कसरी आत्मनिर्भर बन्नसक्छ?,’ उनले थपे।

उनले नेपालले कृषि क्षेत्रमा पनि भारतबाट अर्बौंको कृषि उत्पादन आयात गरिरहेको बताए। ‘आर्थिक वर्षको पहिलो महिनामै नेपालले ७ अर्बको कृषि उत्पादन भारतबाट आयात गरेको छ। यसैलाई आधार मान्ने हो भने नेपालले भारतबाट एक वर्षमा एक खर्बको कृषि उत्पादन आयात गर्छ,’ उनले भने।

उनले चिनियाँ अर्थतन्त्र नेपालको लागि राम्रो हुने दाबी गरे। नेपालले चीनको अर्थतन्त्रबाट केही सिक्नुपर्ने उनको भनाइ छ। ‘चीनको भविष्य एकदम राम्रो छ। नेपालजस्ता अति कम विकासित मुलुकहरूको अर्थतन्त्र उकास्न चीनले सहयोग गर्दै आएको छ,’ उनले भने, ‘नेपालीहरूलाई मेरो सुझाव छ, नेपालको आर्थिक अवस्थाको पुनर्संरचना हुनुपर्छ। चिनियाँ अर्थतन्त्रको संरचनाबाट नेपालले केही सिक्नुपर्छ। चिनियाँ अर्थतन्त्रलाई नजिकबाट नियाल्नुपर्छ।’

राजदूत सोङले आफूले नेपाल कृषि उत्पादन निर्यात गर्ने मुलुक भएको सुनेको बताए। तर यथार्थमा त्यस्तो नरहेको बताउँदै उनले चिनियाँ अर्थतन्त्रको संरचनासँग सहकार्य गर्न नेपाललाई आग्रह गरे। ‘मलाई भनिएको थियो, नेपाल कृषि उत्पादन निर्यात गर्ने मुलुक हो। तर अहिले नेपालले कृषि उत्पादन भारतबाट आयात गरिरहेको छ। म नेपाल सरकारलाई कृषि क्षेत्रमा लगानी गर्न आग्रह गर्दछु,’ उनले भने।

उनले नेपालमा उद्योगहरू नभएका कारण उत्पादन खुम्चिरहेको बताए। ‘नेपालमा पर्याप्त उद्योग छैनन्। भएकाले पनि भारतमाथि भर पर्छन्। अनि कसरी उत्पादन हुन्छ,’ उनले भने।

उनले नेपाल र चीनबीच व्यापार घाटा भएको हल्ला फिजाइएको बताए। तर चीनले नेपाली उत्पादन निर्यात गर्न सधैं हौसला दिँदै आएको उनको भनाइ छ। ‘नेपालबाट कृषि सामग्री निर्यात गर्न चीन तयार छ। तर नेपालसँग त्यस्तो केही उत्पादन नै छैन,’ उनले भने। उनले आफू नेपाल नेपाल सरकारसँग नजिक भएर काम गरिरहेको बताए। ‘नेपालको क्षमता विकासको लागि म काम गरिरहेको छु। गुणात्मक कृषि उत्पादनमा मैले जोड दिएको छु,’ उनले भने।