Loading... आजः १८ बैशाख २०८१, मंगलवार

इजरायलमा रहेका नेपालीको उद्दार र स्वदेश फिर्ताका लागि पहल गर्न कांग्रेस सभापति देउवाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इजरायलमा आक्रमणमा परी घाइते भएका र आक्रमणकारीको कब्जामा रहेका नेपालीहरूको उद्दार तथा स्वदेश फिर्ताका लागि सरकारसँग माग गरेका छन्।

सभापति देउवाले इजरायलमा भएको आक्रमणमा केही घाइते र आक्रमणकारीले केही नेपालीहरूलाई कब्जामा लिइएको घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको भर्त्सना र गहिरो चिन्ता व्यक्त गरेका छन्।

आइतबार एक अपिल जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आवश्यक उद्दार र स्वेदश फर्काउनका लागि सरकारले अविलम्ब कुटनीतिक पहल गर्न माग गरेका हुन्।

‘इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको यकिन तथ्यांक पत्ता लगाइ उनीहरूको जीवन रक्षा र तत्काल सुरक्षित स्थानमा पुर्‍याउनका साथै आवश्यक उद्दार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्ब कुटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ,’देउवाले अपिलमा  भनेका छन्।

सभापति देउवाले इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्टहरू,अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था,आप्रवास सम्बन्धी संगठन आइओएम अन्तर्राष्ट्रिय रेडक्रस समितिलगायत सम्वद्ध अन्तर्राष्ट्रिय समुदायहरूसँग आग्रह गरेका छन्।

अप्ठ्यारोमा परेका नेपालीहरूले आवश्यक सहयोगका लागि इजरायलस्थित नेपाली दूतावास एवं नेपाली जनसम्पर्क समितिमा सम्पर्क गर्न समेत आह्वान गरेका छन्।

इजरायल र हमास समूहबीच भएको आक्रमणमा परी तीनजना नेपाली घाइते भएको र १२ जना सम्पर्कविहीन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।