Loading... आजः १८ बैशाख २०८१, मंगलवार

गाजामा हवाई आक्रमणमा दर्जनौँको मृत्यु

काठमाडौं । हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार युद्धग्रस्त गाजापट्टीका विभिन्न क्षेत्रमा हवाई आक्रमण गर्दा दर्जनौँ मानिसको मृत्यु भएको जनाएको छ । सयौँ मानिस घाइते भएका जनाइएको छ ।

जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निसाना बनाएर आक्रमण गरिएको थियो । पछिल्ला केही घण्टामा ३७ जनाको ज्यान गएको बताइएको छ ।

यस्तै, गाजा सहरको उत्तरमा रहेको अबु एस्कन्दर क्षेत्रस्थित एउटा घरलाई निसाना बनाएर गरिएको इजरायली बमबारीमा कम्तीमा तीनजनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।

यसबाहेक प्यालेस्टाइन सिभिल डिफेन्स सर्भिसले गाजा सहरको पूर्वमा रहेको याफा स्ट्रिटमा इजरायली युद्धक विमानहरूले ध्वस्त पारेका घरहरूमा कैयौँ मानिस मारिएको र घाइते भएका जनाएको छ ।

नागरिक रक्षा सेवाका प्रवक्ता महमूद बसालले हालैका घण्टाहरूमा इजरायली हवाई आक्रमणका कारण ८४ जनाको मृत्यु भएको जानकारी दिए ।

सरकारको मिडिया कार्यालयका निर्देशक इस्माइल अल–थवाबतेहले आइतबार गाजामा पछिल्लो २४ घण्टामा ७०० भन्दा बढी प्यालेस्टाइनी मारिएका बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल