Loading... आजः ३० कार्तिक २०८२, आईतवार

भू–स्वर्ग खप्तड, भएन पर्यटन विकास


टीकापुर – आहा खप्तड–भूस्वर्गमा पाइला पर्दा जो कोही रोमाञ्चित बन्छन्। अनि, भन्छन्– स्वर्गै पुगियो, धन्य भइयो।’ नहोस् पनि किन, खप्तडको सौन्दर्यले जो कोही लठ्ठ हुन्छन्। ज्यानै चंगा, मनै दंग।
खप्तडले मौसमअनुसार रंग फेर्छ, स्वरूप बदल्छ। असोज–कात्तिकमा आँखै अगाडि ठोकिन्छन्– अपी, सैपाल हिम शृंखला। पुस–माघमा हिउँले सेताम्मे हुन्छन्, बुकी पाटनहरू। चैत–वैशाखमा रंगीचंगी गुराँसले स्वागत गर्छन्। जेठ–असारमा जंगली फूलले ढपक्क ढाकिन्छ, खप्तड। सुन्दै स्वर्ग लाग्ने त्यो तपोभूमि। झन्डै ५० वर्ष कठोर साधन गरेका खप्तड बाबाको आश्रम। गंगा, जमुना र सरस्वती नदी मिश्रित त्रिवेणी धाम, सहस्रलिङ्ग, खापर दह, डाँफेकोट, नागढुंगा, केदार ढुंगा, सीतापाइला खप्तडका मुख्य धार्मिक तथा आकर्षक स्थलहरू हुन्।

खप्तडको प्राकृतिक, आध्यात्मिक, योग, साहसिक खेल र साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्न भन्दै ०८० जेठ २३ देखि २५ गतेसम्म सुदूरपश्चिम प्रदेश सरकारले खप्तडकै थलीमा प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आयोजना गर्यो‍। सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसहित दर्जनौं मन्त्री, पूर्वमन्त्री, सांसद, योजना आयोगका पदाधिकारी, लगानी बोर्डका पदाधिकारी, पर्यटन बोर्ड र व्यवसायी तथा सर्वसाधारणहरू खप्तड पुगे।
योग विज्ञानमा चामत्कारिक योगदान गरिरहेका भारतीय योगगुरु रामदेव बाबादेखि आयुर्वेदका ज्ञाता मानिने पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्णले खप्तडको मुक्तकण्ठाले प्रशंसा गरे। सम्मेलनमा तत्कालीन प्रधानमन्त्री दाहालदेखि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसम्मले खप्तडको विकासको ठोस योजना ल्याउने उद्घोष गरे।

समुद्री सतहदेखि ३ हजार ७० मिटर उचाइमा रहेको खप्तडस्थित नेपाली सेनाको ब्यारेकनजिक सानो होटलमा कुकको काम गर्दै आएका बाजुराका हरि रावलले सम्मेलनको तामझाम देखेपछि खप्तडमा पर्यटकको ओइरो लाग्ने सपना देखँे। सम्मेलनमा आएका पाहुनालाई बिहान ८ बजेदेखि राति ३ बजेसम्मै सेवा सत्कार गरे। रावलले सरकार प्रमुखदेखि भारतीय योगगुरुसम्म एकैपटक खप्तड पुगेर विकासको योजना सुनाउँदा खप्तडको कायापलट हुने सपना देख्नु अस्वाभाविक थिएन। कात्तिक महिनाको एकबिहानै उनले भने, ‘प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीलगायत सबै नेताहरूका गफ मात्रै रै’छन्, सम्मेलनपछि पर्यटकको ओइरो लाग्ने मेरो सपना सपनामै सीमित रह्यो।’

सम्मेलनको सात दिनसम्म खप्तडमा पर्यटकको चहलपहल बढे पनि त्यसयता भने खप्तड सुनसान जस्तै छ। ‘जेठ र भदौमा लाग्ने दशहरा मेलाको बेला दुई चार दिन चहलपहल हुन्छ, असोज कात्तिकमा दुई चार सय आन्तरिक पर्यटक आउँछन्, फागुन चैतमा पनि त्यही हो’ उनले भने, ‘अरू बेला दिनभरि रुंगेर बस्नुपर्छ, सम्मेलनपछि पर्यटक बढ्लान भन्ने सोचेको थिएँ। न त पर्यटक बढे न त सरकारकै कुनै योजना नै आयो।’

०२२ सालमा तत्कालीन राजा महेन्द्रले लामो समयदेखि खप्तडमा आश्रम बनाइ साधनारत खप्तड बाबासँग भेट गरेपछि खप्तडको चर्चा चुलिएको थियो। ०४० सालमा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको खप्तडले २२५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। समुद्री सतहबाट १ हजार ४२० मिटरको चौकी भन्ज्याङदेखि ३ हजार ३ मिटर उचाइको सहस्रलिङ्गसम्म खप्तड फैलिएको छ। बाजुरा, अछाम, डोटी र बझाङ चारै जिल्लालाई समेटेको खप्तड क्षेत्र र यहाँका प्रसिद्ध फाँट (पाटन), ताल, गुफा आदि विभिन्न पौराणिक तथा धार्मिक कथाहरूसँग जोडिएका पाइन्छन्। मानव सभ्यताको आरम्भदेखि तपस्वीहरूको साधना केन्द्र, ईश्वरको क्रिडास्थल एवं धार्मिक व्यक्तिको तीर्थधामका रूपमा खप्तडले अग्रस्थान ओगटेको छ।

जैविक विविधता खप्तडको अर्को अमूल्य विशेषता हो। कैलाश हिमशृंखलाअन्तर्गत पर्ने खप्तड क्षेत्रमा २२ वटा घाँसे मैदानका फाँट (पाटन), ९ वटा दह (ताल) र ५२ थुम्काहरू (पहाड) छन्। खप्तड राष्ट्रिय निकुञ्जका अनुसार यहाँ २५० भन्दा बढी प्रकारका जडीबुटी, ५६७ फूल फुल्ने प्रजातिका वनस्पति, २३ प्रजातिका वन्यजन्तुहरू पाइन्छन्।

रातो तथा सेतो बहुरंगी लालीगुराँस र थरीथरीका भुइँफूलले खप्तड पुग्ने जो कोहीलाई रोमाञ्चित बनाउँछन्। फराकिला पाटन, दह, जीवजन्तु र हिमालयको दृश्यावलोकन खप्तडका आकर्षण हुन्। पाटन र थुम्काहरू रहेको खप्तडको मध्यभागमा शिवलिङ्ग स्वरूपको सहस्रलिङ्ग छ। त्यहाँ नौरंगी फूलले सुसज्जित पिरामिड शैलीका दर्जनौं पर्वत शृंखलाहरू छन्।

निकुञ्जका अनुसार खप्तडमा चिराइतो, चुत्रो, झ्याउ, पदमचाल, टिमुर, सालम, पन्जाजडी, सालम्मी, भोजपत्र, श्री काकोली, डोलु, पाँचऔंले र कालकुट विषलगायत जडीबुटी पाइन्छन्। पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्णले गत वर्ष सम्मेलनका क्रममा खप्तडमा एक हजार बढी बहुमूल्य प्रजातिका जडीबुटी रहेको अनुमान गरेका थिए। खप्तडमा पाइने बहुमूल्य जडीबुटीबाट बनेको ओखतीमूलो वितरण गरेर खप्तड बाबाले प्रसिद्धि कमाएको जनविश्वास छ।

खप्तडमा जेठ महिनाको शुक्ल पक्ष दशमीमा लाग्ने गंगा दशहरा मेला, त्रिवेणी धाममा भदौमा लाग्ने जैनपूर्णिमा मेलामा बाजुरा, अछाम, डोटी, बझाङ लगायतका जिल्लाबाट तीर्थयात्रीहरू आउने गर्दछन्। ती मेलामा सुदूरपश्चिमको कला, संस्कृति, भाषा, भेषभूषा देख्न पाइन्छ।

को हुन् खप्तड बाबा ?

सन् १८८० मा भारतको कश्मीरमा नेहरू परिवारमा जन्मिएका सच्चितानन्द सरस्वती स्वास्थ्य चिकित्सक थिए। चिकित्सा पेसामा रहेकै बेला अन्तरप्रेरणाले काशीको दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन गरेपछि उनले सन्यास ग्रहण गरे।

सन् १९२९ मा तत्कालीन बझांगी राजा रामजंगबहादुर सिंहको सहयोगमा उनी पहिलो पटक खप्तड पुगे। उनले खप्तडमै तपोकुटी (बाबा कुटी) निर्माण गरी ५० वर्ष बढी समय कठोर साधना गरे। १ सय १७ वर्ष बाँचेका सच्चितानन्द सरस्वतीले खप्तडलाई पवित्र साधना भूमिका रूपमा रोजेपछि उनको नाम खप्तड बाबाका रूपमा परिचित हुन पुग्यो।

खप्तड बाबालाई खप्तडको पौराणिक, साँस्कृतिक र प्राकृतिक महत्वलाई लोकप्रियताको शिखरमा पु¥याउने श्रेय जान्छ। खप्तडमै बसेर बाबाले विचार विज्ञान, धर्म विज्ञान, म र मेरो कर्तव्य, नारीधर्म र पुरुषधर्म, योग विज्ञान, आत्मज्ञान, आरोग्य विज्ञान, वेदान्त विज्ञान लगायत डेढ दर्जनभन्दा बढी पुस्तक लेखेका छन्। खप्तड बाबा तत्कालीन राजा महेन्द्र तथा वीरेन्द्रका मुख्य सल्लाहकार मध्येका एक मानिन्थे।

धार्मिक, आध्यात्मिक, योग, प्राकृतिक तथा साँस्कृतिक पर्यटनका लागि खप्तड विशेष केन्द्र बन्न सक्ने प्रचुर आधार हुँदाहुँदै पनि योजनाबद्ध विकासका प्रयास भने हुन सकेको छैन।

खप्तडको विकास क्रम

०२२ सालमा तत्कालीन राजा महेन्द्रले खप्तड बाबालाई खप्तडमै पुगेर भेटेका थिए। राजपरिवारका सदस्यले हरेक वर्ष गंगा दशहरा मेलामा खप्तडको भ्रमण गर्थे। खप्तड बाबाकै अनुरोधमा खप्तडलाई ०४० सालमा राष्ट्रिय निकुञ्ज बनाउने निर्णय भएको थियो। यद्यपि विकासको ठोस पहल भने हुन सकेन। सरकारले ०६३/६४ मा खप्तड क्षेत्र पर्यटन विकास समिति गठन गरेको थियो।

समितिको नेतृत्वमा बझाङका भानुभक्त जोशी (हाल सांसद), डोटीका त्रिलोचन भट्ट (सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री), कर्णबहादुर केसी, सहदेव बोगटी र पूर्णराज जोशी क्रमशः अध्यक्ष नियुक्त भए। स्थानीयका अनुसार उनीहरूको कार्यकालमा सम्झन योग्य केही काम हुन सकेन बरु आर्थिक अनियमितताको आरोपबाट उनीहरू अछुतो रहन सकेनन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ०६३/६४ देखि ०७४/७५ सम्म खप्तड पर्यटन विकास समितिका लागि ३० करोड बढी रकम खर्चिएको विभिन्न अभिलेखहरूमा छ। त्यसबाहेक ०६५/६६ देखि ०७५/७६ सम्म नेपाल पर्यटन बोर्डले समेत ३ करोड ५२ लाख ५७ हजार रुपैयाँ खर्च गरेको थियो।

मुलुक संघीय संरचनामा गएसँगै ०७५ मा खप्तड क्षेत्रको विकास समिति प्रदेशअन्तर्गत हस्तान्तरण भयो। सुदूरपश्चिम प्रदेश सरकारले गठन आदेशअनुसार ०७७ पुसमा डोटीका हर्कबहादुर सिंहलाई अध्यक्ष र कार्यकारी निर्देशकमा भीमबहादुर खड्कालाई नियुक्त ग¥यो। उक्त समितिको पहल र सुदूरपश्चिम सरकारको आयोजनामा झन्डै २ करोड बढी रकम खर्चेर गत वर्ष सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलनको ठोस उपलब्धि के

हो ? समितिका कार्यकारी निर्देशक खड्काले भने, ‘खप्तडको विकासका लागि निजी क्षेत्रलाई जिम्मेवार पर्यटन विकासमा लगानी गर्न प्रोत्साहित गर्ने खालको राष्ट्रिय निकुञ्जको नीति, नियममा संशोधन नगरी केही पनि हुँदैन।’ कार्यकारी निर्देशक खड्काले सम्मेलनले बाबा रामदेव, आचार्य बालकृष्णसहित खप्तडमा पुगेकाले अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार भएको जिकिर गरे। ‘प्रचार प्रसार देश विदेशमा भएको छ, सम्मेलनकै बेला निर्माण गरिएका केही भौतिक संरचनाहरू थपिएका छन्। पर्यटकको संख्या पनि थोरै बढेको छ’ खड्काले भने, ‘खप्तडबारे अध्ययन, अनुसन्धान गर्न केही गैरसरकारी संस्थाहरूले निकै चासो दिइरहेका छन् तर पनि सरकारको ध्यान जान सकेको छैन।’

नगन्य पर्यटक

प्राकृतिक सौन्दर्यतासहित आध्यात्मिक र धार्मिक महत्व राख्ने खप्तडमा आर्थिक वर्ष ०८०/८१ मा ३ हजार ३७० नेपाली, ३२ जना विदेशी र सार्क राष्ट्रका २६ जना गरी ३ हजार ४ सय २८ जना पर्यटकहरू निकुञ्जमा प्रवेश गरेको तथ्यांक निकुञ्ज कार्यालयसँग छ।

आर्थिक वर्ष ०७४/०७५ मा ६ हजार ८ सय३१ नेपाली, २८ विदेशी, ७ जना सार्क राष्ट्रका गरी ६ हजार ८ सय ६६ पर्यटक खप्तडमा पुगेका थिए। बर्सेनि खप्तडको प्रचारप्रचार भइरहेको दाबी निकुञ्ज र समितिले गरे पनि पर्यटकहरूको संख्या कम हुँदै गइरहेको छ। यसको मुख्य कारण उचित बसोबासको व्यवस्थापन हुन नसक्नु हो।

पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको खप्तडमा अछाम, बाजुरा, बझाङ र डोटी गरी चार जिल्लाबाट प्रवेश गर्न सकिने निकुञ्जमा यो संख्या निकै कम भएको नेपाल सरकारका पूर्वसचिव डाक्टर गोपीकृष्ण खनाल बताउँछन्।

‘मैले कतै पढेको थिएँ, खप्तड सुनको कचौरा हो भनेर, साँच्चिकै यसको प्राकृतिक, धार्मिक, भौगोलिक अवस्थिति हेर्दा यो सुनको कचौरा नै हो’ कात्तिकमा खप्तड पुगेका डाक्टर खनालले भने, ‘जुन रूपमा यहाँका पर्यटकको ओइरो हुनुपथ्र्यो, त्यो हुन सकेको छैन, निकुञ्जको ऐन, नियमले यहाँ निजी क्षेत्रले लगानी गर्न सक्दैन।’ स्थानीय आर्थिक विकासका विज्ञ समेत रहेका पूर्वसचिव डाक्टर खनालले निकुञ्जबाट प्रभावित जिल्लाका बासिन्दालाई यसको आर्थिक उपलब्धि हुने गरी योजनाबद्ध विकासमा लाग्नुपर्ने बताए।

करोडौंका संरचना अलपत्र

सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडमा साउन भदौमा बढी पर्यटक पुग्छन्। क्षणभरमै बदलिने मौसम, घाम र कुहिरोको रोमाञ्चक लुकामारी अनि रंगीचंगी फूलको बिचैबीच बग्ने सुन्दर खोलाहरू, मनमोहक ताल तथा मनै लोभ्याउने झरना हेर्न खप्तड पुग्ने पर्यटकहरूको मनमा बास कहाँ बस्ने ? भन्ने तनाब सधैं हुन्छ। ‘खप्तडको आनन्द लिन, यहाँका फाँटहरू घुम्न, दृश्य हेर्न, ट्रेकिङ गर्न जति आनन्द छ, त्यो नेपालकै अन्य कुनै ट्रेकिङ क्षेत्रमा मैले पाएको छैन’ खप्तड घुम्न आएका काठमाडौंका आभाष घिमिरेले भने ‘दिनभर जति नै रमाइलो गरे पनि राति बास कहाँ बस्ने भन्ने चिन्ता चै हुने रहेछ।’ उचित बासको व्यवस्थापन हुन सके ध्यान, योग, ट्रेकिङको आनन्द लिन खप्तडमा पर्यटक आउने विश्वास घिमिरेले गरे।

घिमिरेले भनेझैं खप्तड राष्ट्रिय निकुञ्ज र नेपाली सेनासँग सम्पर्क सम्बन्ध नहुनेहरू एउटै कोठामा १०/१५ जनासम्म कोचिएर रात कटाउनु पर्ने बाध्यता छ। खप्तडमा लाग्ने मेलाको बेला यहाँ पुग्ने पर्यटकहरूले राम्रोसँग सुत्नै पाउँदैनन्। खप्तडमा रहेको एउटा मात्रै सार्वजनिक गेस्टहाउस सञ्चालनमा छ। गेष्ट हाउस थुप्रै भए पनि कोही निर्माण सम्पन्न नहुँदै भत्किन लागेका छन भने कोही प्रयोगमै आएका छैनन्।

खप्तडको आर्मी ब्यारेकनजिकै क्यान्टिनका कर्मचारी हरि रावलले भने ‘भएका भवनहरूसमेत सञ्चालन हुन नपाउँदै भत्किरहेका छन्, यही एउटा गोलघर छ, पर्यटकहरू धेरै आएको बेला एकै कोठामा कोचाकोच गरेर भए पनि सुताउने गरेका छौं।’ निकुञ्जले बनाएका दुईवटा गेष्ट हाउस गरी खप्तडमा दैनिक २०/३० जनालाई बास व्यवस्थापन गर्न समस्या नभएको बताए। धेरै संख्यामा एकै पटक पर्यटकहरू आउँदा राष्ट्रिय निकुञ्जको गेस्ट हाउस र कर्मचारीहरू बस्ने कोठामा समेत व्यवस्थापन गर्ने गरेको रावलले बताए।

खप्तडका विभिन्न ठाउँमा गेष्ट हाउसका रुपमा २१ वटा घरहरू निर्माण भएका छन। ब्यारेक क्षेत्रमा चार, त्रिवेणी क्षेत्रमा तीन, केदारढुंगामा तीन, बाबा आश्रम क्षेत्रमा दुई, घोडा दाउना पाटनमा एक, खापर दहमा तीन र सहस्रलिङ्गमा एक पक्की भवन बनेका छन। डोटीको झिंग्राना हुँदै आउने पर्यटकका लागि बिचपानीमा दुई, अछामबाट खप्तड छिर्ने पर्यटकका लागि गणेशस्थान पाटनमा एक र बझाङको लोखडामा एक पक्की भवनहरू छन्।

विश्राम स्थलको रूपमा खप्तडको घोडादाउना पाटन, त्रिवेणी, बिचपानी, खापरदह, खप्तड बाबा कुटी, नागढुंगा, सहस्रलिङ्गलगायत ठाउँमा त्यत्तिकै मात्रामा फलामका ट्रस्टहरू छन्। यी सबै भवन प्रयोगमा आउने हो भने खप्तडमा दैनिक एक हजार ५ शय भन्दा बढी पर्यटकलाई बास बस्न पुग्छ। निर्माण भएर सञ्चालन नहुँदा यी मध्ये अधिकांश भवनहरू जीर्ण बनेका छन्। जस्तापातामा खिया लागेको छ। फलामे ट्रष्टमा गाईवस्तुको मलमुत्र भरिएको छ।

‘एकातिर यत्रा भवनहरू बनेर पनि प्रयोग भएका छैनन्, अलपत्र छन्। अर्कोतिर घुम्न आउनेहरूले बास नपाएर दुःख पाइरहेका छन्’ सिन्धुपाल्चोकबाट खप्तड घुम्न पुगेका अनिरुद्र न्यौपानेले भने ‘राज्यको लगानीमा बनाइएका यत्रा भवनहरू प्रयोग नै नहुने भए किन बनाउनु? यी संरचना बनाएको के अर्थ भयो ? ’

निर्माण भएका कतिपय भवनहरू निर्माण कम्पनीले हस्तान्तरण नगरी छोडेका कारण सञ्चालन हुन सकेका छैनन् भने कतिपय भवनहरू अपायक ठाउँमा निर्माण भएका छन्। ‘दुई ठाउँमा निर्माण भएका भवनहरू निर्माण कम्पनीले मुस्किलले निर्माण सकेर हस्तान्तरण गरेका छैनन् भने कतिपय पर्यटकका लागि पायक पर्ने स्थानमा छैनन्’ खप्तड राष्ट्रिय निकुञ्जका सूचना अधिकारी विद्या थापाले भनिन्, ‘निकुञ्जले हस्तान्तरण भएका भवनहरू टेन्डर प्रक्रियाबाट सञ्चालन गर्ने निकुञ्जको तयारी छ।’

निकुञ्जले नै बनाएका कतिपय भवनको हालत समेत उस्तै छ। प्रयोग मै नआएर जीर्ण बन्दै गरेका खप्तड क्षेत्रका यी भवनहरू निर्माणका लागि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय, नेपाल पर्यटन बोर्ड, खप्तड क्षेत्र विकास समितिले करोडौं लगानी गरेका छन्।

सुदूरपश्चिम प्रदेश सरकार, तत्कालीन जिल्ला विकास समिति बझाङ, अछाम, डोटी र बाजुरा तथा खप्तडसँग जोडिएका चारै जिल्लाका स्थानीय तहको गरी २०६६ यताका १० वर्षमा खप्तडमा भवन बनाउन मात्रै ३० करोड बढी खर्च भएको विभिन्न अभिलेखमा भेटिन्छ। निकुञ्जको ब्यारेक क्षेत्रनजिक पाँच करोडको लगानीमा बनेको गेस्टहाउस ठेकेदारले हस्तान्तरण नगरेरै जीर्ण बन्दै गएको छ।

वातावरणीय दृष्टिकोणले समेत निकै संवेदनशील क्षेत्र मानिएको खप्तडमा फोहोर व्यवस्थापन जटिल समस्याका रुपमा छ। बाटोमा राखिएका डस्टबिनको अवस्था निकै दयनीय छ। खप्तडको मुख्य क्षेत्रमै प्लास्टिक, चाउचाउका खोल, कालो प्लास्टिकजस्ता फोहोर थुप्रिएका छन्। ‘यसले पर्यावरणीय प्रभाव त पार्छ नै पर्यटकहरूमा नराम्रो सन्देश पनि जान्छ’ काठमाडौंबाट खप्तड पुगेका आयुषजंग थापाले भने, ‘खप्तडमा भौतिक पूर्वाधारको विकाससँगै दिगो पर्यटन विकासमा ध्यान दिन जरुरी छ। यति महत्वपूर्ण ठाउँमा जथाभावी प्लास्टिक फाल्ने, डस्टबिनको फोहोर व्यवस्थापन नहुनुले राम्रो सन्देश जाँदैन, निकुञ्जले यसमा ध्यान दिनुपर्छ।’

गत जेठमा सम्पन्न भएको सम्मेलनमा बोल्दै पतञ्जली योगपीठका प्रमुख आचार्यले बालकृष्णले भनेका थिए ‘प्रकृतिको दुर्लभ उपहार हो खप्तड।’ यही प्रकृतिको दुर्लभ उपहार खप्तडको विकासका लागि चर्चा सुरु भएको लामो समय भइसक्दासमेत उचित व्यवस्थापकीय कमजोरीका कारण खप्तड सुनसान झैं छ। प्राकृतिक, आध्यात्मिक, योग, साहसिक खेल र साँस्कृतिक पर्यटनका लागि खप्तड विशेष केन्द्र बन्न सक्ने प्रचुर आधार हुँदाहुँदै पनि सरकारी बेवास्ताका कारण खप्तड ओझेलमै छ।
अन्नपुर्ण पोष्टबाट साभार ।