Loading... आजः १४ श्रावण २०८२, बुधबार

हुम्ला अब टाढा छैन


हिमालको गोदमा छपक्क लुकेको, प्रकृतिको अनुपम सौन्दर्यले सजिएको, माथि लेकाली सल्लो र धुपीको सिरोट, नजिकै रानीबनको अगम्य शिशिरता उत्तरमा हुमाने खोलाको चिच्यावट तल शिव मन्दिरको बताससँगै खार्पू दोभानको मनोरम दृश्य लिँदा आनन्दित हुने हुम्लाको सदरमुकाम सिमकोट तर समग्रतामा सधैं अभाव,गरिबी, अशिक्षा र दुर्गमताको पर्याय बनेको हुम्ला वर्षांँदेखि नेपालीको मानसपटलमा एउटा यस्तो ठाउँका रूपमा थियो जहाँ पुग्न जीवनकै एउटा साहसिक, कष्ठकर, अनुनय–बिनय र महँगो यात्रा तय गर्नुपथ्र्यो ।
हवाईजहाजको भरमा चलेको जीवन, महँगो ढुवानी र आधारभूत सुविधाको अभाव यही थियो हुम्लाको कथा । तर, समयले कोल्टे फेरेको छ । हिजो आज प्रधानमन्त्रीको फेसबुल बालमा हुम्ला अब टाढा छैन २६ वर्षको प्रतिक्षा पूरा हुँदैछ भनिरहँदा राजनैतिक भाषामा सबै दलले आफूमा जस लिने आशय व्यक्त गरे तापनि जनताको प्रतीक्षा र खुसीको क्षण यही असार २२ गते बाँकी एउटा पुलको उद्घाटन भएपश्चात् औपचारिक रूपमा हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने छ प्रतीक्षाको एउटा अध्याय पूरा हुनेछ  ।
छिमेकी देश भारत र चीन भौगोलिक रूपमा नेपालभन्दा निकै विशाल छन् । चीनको सबैभन्दा दुर्गम काउन्टीमध्ये एक तिब्बतको मोतुओ काउन्टीलाई मानिन्छ । सन् २०१२ पछि (ग्रामीण सडकको व्यापक विस्तार) योजनापछि तर त्यहाँ सन् २०१३ मा मोतुओसम्म पहिलो पक्की सडक खोलियो । चीनकै दुर्गम गाउँ दालियाबुयीलाई सडक नपुकेकै कारण सन् २०१९ मा गाउँका बासिन्दाहरूलाई युटियन काउन्टी नयाँ स्थानमा सारियो । हाल चिनको गाँउ बस्तीमा समेत सडको पहुँच छ । भारतको सबैभन्दा दुर्गम अबुझमाड, जुन छत्तीसगढको नारायणपुर जिल्लामा अवस्थित छ सन् २०२० मा सडकको पहुँच भए पनि हालसम्म नि केही बस्तीमा सडक निर्माणको काम निरन्तर चलिरहेको छ ।

छिमेकी मुलुक त भौगोलिक रुपमा नै ठूला छन् राजधानीबाट निकै टाढा छन् तर हुम्ला राजधानीबाट ९०० केमीको हाराहारीमा मात्र टाढा छ । विगतलाई पल्टाएर हेर्ने हो भने सडक असुविधाका परिमाणको दर्दानक पीडाको पहाड हरेकको मानसपटलमा बेला–बेलामा घन चक्कर लागि रहन्छ ।

काँधमा सपनाको भारी, मनमा पीडाको भारी बोकेर हिँड्ने पाइलाहरू हुम्ला यो नाम केवल एउटा भूगोल थिएन, यो त एउटा वियोगको कथा थियो । वर्षौंसम्म नियतिले कोरिएको एउटा दर्दानक चित्र थियो, जहाँ मानिसहरूको जीवन आकाशको जहाज र खसी, भेडा र खच्चरको पाइलामा निर्भर थियो । मानवका साथै मानीवेत्तर प्राणीले प्रकृतिको अप्रत्याशित चुनौतीको सामाना गर्नुपथ्र्यो ।

जब बिरामीले छटपटाएर अन्तिम सास लिन्थ्यो, तब उसलाई अस्पताल पुर्‍याउने एम्बुलेन्स थिएन, केवल मनभित्रको क्रन्दन मात्र थियो । काखको नानीले ज्वरोले पोलिरहँदा आमाले आकासतिर हेरेर जहाजको आस गर्थिन् । तर, कुहिरो लागेको दिन वा हुस्सुले डाँडा ढाकेको समयमा जहाज आउँदैनथ्यो ।त्यतिखेर आमाको आँखाबाट बगेको आँसु मात्रै हुम्लाको पीडाको साक्षी हुन्थ्यो ।

खद्यान अभाव हुने स्थानका बासिन्दा नुन सकिँदा, चामलको बोरा रित्तिँदा, पाँच केजी चामलका लागि खाद्यन घरको ढोका या कुनै नेताको ढोका उभिएर अनुनय विनय गर्नु बाध्यता थियो । हवाईका लागि पुसको शीत, तुषासोलाई चुनौती दिँदै मध्य रातमा लाइन बस्नु पथ्र्यो । घामपानी नभनी, हिउँको सिरेटोलाई छेडेर जीवनको आधारभूत आवश्यकता बोकेर आउने चामल बोक्ने खसी र अन्य सामान बोक्ने खच्चरहरू नै हुम्लाका लागि सडक थिए, आशा थिए ।

एउटा सियो र साबुनको मूल्य पनि हजारौं गुणा महँगो पथ्र्यो, किनभने त्यो सियो र साबुनले सयौं किलोमिटरको पैदल यात्रा तय गरेर या कैयौं दिन नेपालगञ्ज र सुर्खेत एयरपोर्टको घाम, पानीमा लुकामारी खेल्दै आकाशबाट आएको हुन्थ्यो । पढ्ने उमेरका नानीबाबुहरूले कापी कलम होइन, दाउराको भारी बोक्नुपथ्र्यो, ताकि दुई छाक टर्न सकोस् । युवाहरूको पाखुरामा बल थियो, मनमा सपना थियो, तर ती सबैलाई कुल्चेर गरिबी र अभावले जीवनको गतिलाई रोकिदिन्थ्यो ।

हुम्लाको सुन्दरतालाई हेर्न आउने पर्यटकहरूले त यहाँको प्राकृतिक छटाको बयान गर्थे, तर यहाँका मानिसहरूको मुटुमा लुकेको पीडाको कथा कसैले लेख्दैनथ्यो । सडकको नाममा केवल गोरेटो बाटो थियो, जसले मानिसको पसिना र आँसुको कथा बोकेको थियो । यो कथा अब बिगत बनेको छ । सपनाको यात्रा यथार्थमा बदलिने क्रममा छ । हुम्लाको माटोमा सडक पुग्नुभन्दा पहिले मानिसहरूले बगाएको पसिना र आँसुको कथा सधैं हाम्रो सम्झनामा रहनेछ, जसले सडकको महत्वलाई अझ गहिरो बनाएको छ । हुम्ला अब टाढा नभए पनि, त्यो बिगतको पीडा सधैं मनमा रहिरहनेछ । पहिले हुम्ला एउटा भूगोल थिएन, एउटा सपना थियो । जहाँ पुग्न आकाशको बाटो कुर्नु पथ्र्यो, जसको माटोले कहिल्यै गाडीको टायरको स्पर्श पाएको थिएन । यो त त्यो कथा थियो जहाँ सदरमुकाम सिमकोट पुग्न नेपालगञ्ज, सुर्खेतबाट जहाज चढ्नुपर्ने र मौसम बिग्रिए कहिलेकाहीँ हप्तौं कुर्नुपर्ने बाध्यता थियो ।

रोगले थलिएको बिरामीले एम्बुलेन्स होइन, हेलिकप्टरको सपना देख्नुपथ्र्यो । आज हिमालको छाती चिर्दै, कडा चट्टानलाई पगाल्दै र कर्णालीको गर्जनलाई पछि पार्दै सडकले अब हुम्लाको ढोका ढकढक्याएको छ । कर्णाली करिडोरको निर्माण, नेपाली सेना र मेहनती कामदारहरूको अथक प्रयासले अब सिमकोटमा गाडी पुग्ने दिन नजिकै आएको छ । यो केवल सडकको ट्रयाक खोल्नु मात्र होइन, यो त विकासको एउटा नयाँ अध्याय हो । यो सिमकोटलाई राष्ट्रिय सञ्जालमा जोड्ने एउटा पुल हो । यतिमात्र नभई अब नेपालगञ्ज, सुर्खेतबाट सडक यात्रामा दैलेखको राकम पुगे कर्णाली तीरै तीर मनोरम प्राकृतिक छटा सँगै हुम्ला मात्र होईन चीनको सिमान मानसरोवर र कैलाशको यात्रा गर्न कठिन रहेन ।

सडकले अब हुम्लाको मुहार फेर्दैछ । अब त्यहाँ उत्पादित स्याउ, सिमी, ओखर, आलु, अन्न, जडीबुटी र अन्य उत्पादित स्थानीय सामर्गीले सहजै बजार पाउने छन् । स्वास्थ्य सेवा, शिक्षा र सञ्चारको पहुँच सहज बन्नेछ । अब बिरामीले समयमै उपचार पाउने छन्, विद्यार्थीले राम्रो शिक्षाको अवसर पाउनेछन् र यहाँका मानिसहरूले आफ्नो जीवनस्तर उकास्ने मौका पाउने छन् । हुम्ला अब दुर्गमको परिभाषाबाट बाहिर निस्कँदै छ । यो सडकले जोडेको भूगोल मात्र होइन, मन हो । यसले बाँधेको दूरी मात्र होइन, सम्बन्ध हो । अब हिमालको यो काखमा पनि विकासको किरण पुगेको छ । यो विकासको यात्राले हामीलाई सिकाएको छ दृढ इच्छाशक्ति र अथक प्रयास भए असम्भव केही छैन । हुम्ला अब टाढा छैन, यो त अब हाम्रो नजिकको सुन्दर गन्तव्य हो, जसले विकासको नयाँ आशा बोकेको छ । असिम पर्यटकीय स्थलको संभावना छ ।

हिमाल, ताल, फाँट, मन्दिर पर्यटकको लागि उत्तम गन्तब्य हुनेछ । अनुसन्धानक कर्ताका लागि ज्ञानको भण्डार हुनेछ । साहित्यकारका लागि प्रत्येक स्तम्भमा स्थान हुनेछ । समृद्धिका लागि स्थानीयपालिकाले सोहीबमोजिम योजना निर्माण गर्ने छन् । हुम्ला अब टाढा छैन, यो त अब हाम्रो नजिकको सुन्दर गन्तव्य हो, जसले विकासको नयाँ आशा बोकेको छ ।