Loading... आजः ३० कार्तिक २०८२, आईतवार

संसारभरका परिकारदेखि उपचारसम्म प्रयोग गरिन्छ लसुन


काठमाडौं – लसुन हजारौँ वर्षदेखि स्वादले मात्र नभई औषधीय गुणका लागि पनि प्रिय छ।
लसुनको एन्टिमाइक्रोबियल गुण (सूक्ष्मजीवलाई मार्ने वा रोक्ने क्षमता) र एन्टिभाइरल प्रभावका लागि परिचित छ। यो लामो समयदेखि पाककला र परम्परागत उपचारमा प्रयोग हुँदै आएको छ।
मूल रूपमा मध्य एसियाबाट लसुन युरोप र अमेरिकामा बसाइँ सर्ने जनसंख्यासँगै फैलियो। आज चीन लसुनको सबैभन्दा ठूलो उत्पादक हो।
हरेक भान्सामा पाइन्छ लसुन
लसुन बिना अधुरो लाग्ने अनगिन्ती परिकार छन्।

उत्तरपश्चिम फ्रान्समा रहेको आफ्नो फ्रान्सेली भोजन विद्यालयमा अमेरिका, अष्ट्रेलिया, बेलायत र एसियाका विद्यार्थीलाई पढाउने डेनिस शेफ पौल एरिक जेन्सेनले लसुनबारे थाहा नभएका विद्यार्थीलाई कहिल्यै भेटेका छैनन्।

लसुनले खानालाई अत्यन्तै स्वादिष्ट बनाउँछ भन्ने उनको विश्वास छ। उनी लसुन बिना फ्रान्सेली खानाको कल्पना पनि गर्न सक्दैनन्।

सन् १९७० को दशकको सुरुतिर उनी ग्रामीण डेनमार्कमा हुर्किरहेका थिए। त्यहाँका मानिसलाई लसुनबारे धेरै थाहा थिएन।

त्यतिबेला लसुनको तिखो गन्धका कारण प्रयोग गर्दैन थिए। तर त्यसपछि टर्कीका कामदार डेनमार्कमा बसोबास गर्न थाले र लसुनबाट बनेका खाना सामान्य हुन थाले।

सेफ जेन्सेनलाई पनि इटालियन पिज्जाबाट लसुन बनाउने बानी परिसकेको थियो। आज उनी जाडोमा घरेलु उपचारमा यसलाई प्रयोग गर्छन्।

लसुनको इतिहास
लसुनको सांस्कृतिक र आध्यात्मिक महत्त्व शताब्दीयौंदेखि छ। प्राचीन ग्रीकले बोक्सीविद्याकी देवी र घरकी रक्षक हेकाटेलाई भेटीको रूपमा लसुन चौबाटोमा चढाउँथे।

इजिप्टमा प्रसिद्ध तुतानखामुनको चिहानमा लसुन फेला परेको थियो। जुन मृत्यु पछि उनको सुरक्षाका लागि त्यहाँ राखिएको मानिन्छ।

चिनियाँ र फिलिपिनो लोककथामा मानिसले पिशाचसँग लड्न लसुन प्रयोग गर्ने कथा छन्।

ʻसंसारको सबैभन्दा पुरानो रेसिपी मेसोपोटामियाली स्ट्यु डिश हो,ʼ लसुन एन एडिबल बायोग्राफीका लेखक रोबिन चेरी भन्छन्, ʻयो करिब ३,५०० वर्ष पुरानो हो र यसमा लसुनको दुई पोटी हुन्छ।ʼ

चेरीका अनुसार प्राचीन ग्रीक चिकित्सक र दार्शनिक हिप्पोक्रेट्सले विभिन्न चिकित्सा उपचारमा लसुन प्रयोग गर्थे। यसबाहेक एरिस्टोटल र एरिस्टोफेन्स जस्ता विचारक र लेखकले पनि लसुनको औषधीय गुण उल्लेख गरेका छन्।

दासको खानादेखि राजपरिवारसम्म
लसुन प्राचीन मेसोपोटामिया, इजिप्ट, ग्रीस, रोम, चीन र भारतमा लोकप्रिय थियो। रोमन सिपाहीले लसुनले साहस र बल दिने र आफ्नो विजयको समयमा यसलाई युरोपभरि फैलाएको बताए।

लसुनलाई खाना र औषधि दुवैको रूपमा प्रयोग गरिएपनि कुनै समय दासको खाना मानिन्थ्यो। यो कुनै समय गरिबले मात्र खान्थे।

पुनर्जागरणको समयमा लसुनको प्रतिष्ठा परिवर्तन हुन थाल्यो। १४ औँ शताब्दीदेखि १६ औँ शताब्दीसम्मको यो अवधि युरोपेली इतिहासको एउटा महत्त्वपूर्ण अवधि थियो। यो शास्त्रीय शिक्षाको पुनर्जन्म र कला र विज्ञानको फस्टाउने समय थियो।

ʻफ्रान्सका हेनरी चौथोले लसुनको बप्तिस्मा लिएका थिए र धेरै खान्थे। यसले गर्दा यो केही हदसम्म लोकप्रिय भयो,ʼ रोबिन चेरी भन्छन्।

उनले १९ औँ शताब्दीमा भिक्टोरियन इङ्गल्याण्डमा लसुन धेरै लोकप्रिय भएको बताए।

लसुन धेरै पछि संयुक्त राज्य अमेरिकामा आइपुग्यो। १९५० र १९६० को दशकमा आप्रवासीले ल्याएका हुन्। यसले लसुनको नकारात्मक धारणा परिवर्तन गर्न मद्दत गर्‍यो।

लसुनको औषधीय गुण
आज विश्वभर लसुनको ६०० भन्दा बढी प्रजाति छन्। केही उज्बेकिस्तान र जर्जियामा पाइने विश्वव्यापी रूपमा उपलब्ध भएका छन्।

आधुनिक खानामा लसुनको महत्त्वको अतिरिक्त सामान्यतया रुघाखोकीको लक्षणको उपचार वा कम गर्न प्रयोग गरिन्छ।

धेरै क्लिनिकल परीक्षणले रक्तचाप, कोलेस्ट्रोल र क्यान्सरमा पनि प्रभावको अन्वेषण गरेका छन्। तर परिणाम मिश्रित छन्।

इरानमा गरिएको एउटा सानो अध्ययनले लसुन र कागतीको रसले ६ हप्तासम्म कोलेस्ट्रोल र रक्तचाप कम गर्न मद्दत गरेको पत्ता लगाएको छ।

तर अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयले ६ महिनामा २०० स्वस्थ व्यक्तिलाई समावेश गरेको एउटा ठूलो अध्ययनले कोलेस्ट्रोलमा कुनै उल्लेखनीय कमी आएको पाइएन।

अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयले २०१४ मा गरेको एक अध्ययनले लसुनको एन्टिमाइक्रोबियल, एन्टिभाइरल र एन्टिफङ्गल गुण पुष्टि गरेको छ।

वयस्कका लागि दैनिक एकदेखि दुई पोटी लसुनको सेवन सुरक्षित मानिन्छ। तर अमेरिकन फेमिली फिजिसियन नामक क्लिनिकल जर्नलमा प्रकाशित एक पेपरका अनुसार अत्यधिक सेवनले पेट र आन्द्राको समस्या, ग्यास र आन्द्राको वनस्पतिमा परिवर्तन ल्याउन सक्छ।