Loading... आजः २४ मंसिर २०८२, बुधबार

नीजि क्षेत्रले भन्यो – कर्णाली प्रदेश सरकारले नीजिक्षेत्रलाई निरुत्साहित बनायो


सुर्खेत – उद्योग बाणिज्य संघ कर्णालीले होटलमा सरकारी कार्यक्रम निक्षेत्र गर्ने प्रदेश सरकारको निर्णयले नीजि क्षेत्रलाई निरुत्साहि बनाएको बताएको छ । उद्योग बाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले सरकारले मितव्यी खर्च गर्ने नाममा आर्थिक मन्दीको समयमा निजीक्षेत्रलाई थप समस्यामा पार्ने गरी होटलमा सरकारी कार्यक्रम प्रतिबन्ध लगाउनु उचित नभएको बताए । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा उद्योग बाणिज्य संघ कर्णाली प्रदेश समितिद्धारा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सरकारले बिभिन्न कार्यक्रमहरुमा हुने अनावश्यक खर्च घटाउने, सरकारी संरचना सक्रिय बनाउने भनिएपनि उक्त निर्णयले होटल व्यवासयी र समग्र निजी क्षेत्रमा प्रतक्ष्य असर परेको उनको भनाई छ । उनले भने, बरु खर्च घटाउन मितव्यीताका अरु उपायहरु पनि छन् । त्यस तिर सरकारले सोच्नु पर्ने हो । होटलहरुमा कार्यक्रम गर्ने कुरा तथा देश बिदेश सबै ठाँउहरुमा हुन्छ । कर्णालीमा संचालनमा रहेको झण्डै ७ हजार होटलहरुमा रोजगारी गरिरहेका १५ हजार बढी नागरिकहरुको रोजगार पनि संकटमा पर्ने उनले बताए । उनले सरकारले नीजि क्षेत्रसँग सहकार्य गर्न तयार भएन् । संकटमा रहेको निजिक्षेत्रलाई थप समस्यामा पार्न सरकारले नै भुमिका खेलिरहेको छ । यो गलत छ ।
कार्यक्रममा सुर्खेत च्याम्मर अफ कमर्शका अध्यक्ष चिन्तामणी शर्माले कर्णालीमा ८ बजेपछि सडकमा गाडी गुड्न नपाउने, राति १० बजेपछि होटल तथा रेन्टुरेन्टहरु खुला राख्न नपाईने जस्ता नियमहरुले कर्णालीको नीजि क्षेत्र मारमा परिरहेको बताए । उनले भने, होटल भनेको कर्णालीको पर्यटन प्रवद्र्धनको मुख्य आधार हो । यो त २४ सै घण्टा संचालन हुन पाउनुपर्ने हो । तर यहाँ राति १० बजेपछि होटलको ढोका खुल्ला भएको देखेपछि प्रहरीले ढोकामा आएर लाठ्ठी हान्छ । यसले राति आउने पर्यटकहरुका लागि समस्या भएको छ । यसरी हाम्रो प्रदेशको पर्यटन क्षेत्रको विकास कसरी हुन्छ ।
सुर्खेत उद्योग बाणिज्य संघका प्रतिनिधिहरु सहितका सरोकारवालाहरुले कर्णाली प्रदेशको आन्तरिक हवाई सेवा नेपालगञ्जबाट संचालन हुँदा पनि यहाँको निजी क्षेत्र प्रभावित भएको बताए । उनीहरुका अनुसार कर्णालीका विकट जिल्लाहरुमा हुने हवाई सेवा लुम्बिनी प्रदेशको नेपालगञ्ज बिमानस्थलबाट भईरहेको छ । यसले यहाँको आर्थिक विकासमा प्रतक्ष्य असर गरेको छ । सरकारले त्यसलाई सुर्खेत बिमानस्थलबाटै संचालन गर्न पहल गरेको भए यहाँको आर्थिक गतिबिधिले गति लिने थियो । तर सरकार यस्ता कामहरु नगरेर उल्टै नीजि क्षेत्रलाई थप समस्यामा पर्ने निर्णय गरिरहेको उनीहरुको आरोप छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजिबबिक्रम शाहाले सरकारले नीजि क्षेत्रको हितलाई ध्यानमा राख्न थप समन्वय गर्ने बताए । उनले भने, सरकारले नीजि क्षेत्रका सवालहरुका बिषयमा गम्भीर छ । सरकारले लिएका नीतिका कारण नीजि क्षेत्रलाई हानी नहुने अवस्थाका लागि आवश्यक नीति निर्माण र समन्वयका लागि हामी तयार नै छौँ । नीजि क्षेत्रको सहयोग बिना कर्णालीको विकास र समृद्धिको सपना पुरा हुन सक्दैन् । यसमा सरकार सजक छ । उनले प्रदेश सरकारले सुशासन र मितव्यी खर्चका सन्दर्भमा गम्भीरताका साथ काम गरिरहेको बताए ।