कर्णाली खेलकुद परिषद्को सदस्य सचिवका लागि २१ जनाको आवेदन
सुर्खेत- कर्णाली प्रदेश खेलकुद विकास परिषद् एक वर्षदेखि पदाधिकारीविहीन रहँदै आएको अवस्थामा रिक्त सदस्य–सचिव पदका लागि २१ जनाले आवेदन दिएका छन् । राजनीतिक भागबण्डा नमिल्दा लामो समय अलमलिएको परिषद्मा सामाजिक विकास मन्त्रालयले खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रक्रिया अघि बढाएको हो ।
परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद हमाल, सदस्य–सचिव विश्वामित्र संज्याललगायत पदाधिकारीहरूको चारवर्षे कार्यकाल गत वर्ष पुस ६ गते सकिएको थियो । त्यसपछि एमाले–कांग्रेस गठबन्धन सरकार हुँदाहुँदै पनि राजनीतिक सहमति नजुट्दा परिषद् नेतृत्वविहीन बन्यो ।
प्रदेश सरकारको नेतृत्व एमालेले गरे पनि खेलकुद हेर्ने सामाजिक विकास मन्त्रालय कांग्रेसको भागमा छ । यही कारण कर्णाली प्रदेश खेलकुद विकास परिषद् र प्रदेश लोकसेवा आयोग लामो समयदेखि पदाधिकारीविहीन रहँदै आएका छन् ।
पदाधिकारी नहुँदा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीसमेत प्रभावित भएको छ । परिषद्को नियमित कार्यक्रम, बजेट कार्यान्वयन र खेल पूर्वाधारसम्बन्धी निर्णयसमेत रोकिएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
रिक्त सदस्य–सचिव पदका लागि परिषद्का पूर्व पदाधिकारीहरूसमेत प्रतिस्पर्धामा छन् । पूर्वउपाध्यक्ष प्रमोद हमाल, पूर्व सदस्य–सचिव विश्वामित्र संज्याल र बोर्ड सदस्य हेमा खड्काले आवेदन दिएका हुन् । हमाल वीरेन्द्रनगर नगरपालिका–५, सुर्खेतका हुन् भने संज्याल शान्नी त्रिवेणी गाउँपालिका–६, कालिकोटका हुन् । खड्का नारायण नगरपालिका–८, दैलेखकी हुन् ।
अन्तर्राष्ट्रिय खेलाडीसमेत प्रतिस्पर्धामा छन् । उसु खेलाडी दीपक हमालले सदस्य–सचिवका लागि आवेदन दिएका छन् । भेरीगंगा नगरपालिका–४, सुर्खेतका हमालले सन् २०१९ मा सम्पन्न दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालको तर्फबाट स्वर्ण पदक जितेका थिए । उनले सन् २०२४ मा आयोजित अन्तर्राष्ट्रिय खुला उसु प्रतियोगितामा दुई कास्य पदकसमेत जितेका छन् ।
मुख्यमन्त्री यामलाल कँडेलका स्वकीय सचिव घनश्याम पाण्डेले पनि आवेदन दिएका छन् । तर, उनी हाल सदस्य–सचिव पदमा कार्यरत नरहेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले बताए ।
अन्य प्रतिस्पर्धीहरूमा चन्दननाथ नगरपालिका–६, जुम्लाका चेतनराज गिरी, वीरेन्द्रनगर नगरपालिका–६, सुर्खेतका प्रभात थापा, दिलीप बस्याल र जगत प्याकुरेल छन् । प्याकुरेल यसअघि सुर्खेत जिल्ला खेलकुद विकास समितिको सदस्य–सचिव भइसकेका व्यक्ति हुन् ।
यस्तै, भैरवी गाउँपालिका–५, दैलेखका जगतप्रसाद रिजाल, वीरेन्द्रनगर नगरपालिका–८, सुर्खेतका केशरबहादुर रोकाया, वीरेन्द्रनगर नगरपालिका–१२, सुर्खेतका टंकप्रसाद गैरे, खाडाचक्र नगरपालिका–७, कालिकोटका पंखबहादुर मल्ल, तिलागुफा गाउँपालिका–१, कालिकोटका मनराज शाही, वीरेन्द्रनगर नगरपालिका–३, सुर्खेतका पदम बन, आठबिस नगरपालिका–१, दैलेखका गणेश खनाल र वीरेन्द्रनगर नगरपालिका–२, सुर्खेतका गणेशबहादुर शाही पनि प्रतिस्पर्धामा छन् ।
त्यस्तै, लेकबेसी नगरपालिका–२, सुर्खेतका रेशमबहादुर गुरुङ, वीरेन्द्रनगर नगरपालिका–७, सुर्खेतका रवीन्द्र चन्द, दुल्लु नगरपालिका–८, दैलेखका पवनकुमार थापा र चौरजहारी नगरपालिका–५, रुकुम पश्चिमका लीलाप्रसाद ढकालले पनि आवेदन दिएका छन् । ढकाल रुकुम पश्चिम जिल्ला खेलकुद विकास समितिका पूर्व सदस्य–सचिव हुन् ।
सामाजिक विकास मन्त्रालयले ९ मंसिर २०८२ मा जारी गरेको सूचनाअनुसार, आवेदक नेपाली नागरिक, कर्णाली प्रदेशको स्थायी बासिन्दा, २५ वर्ष उमेर पूरा गरेको, नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण र खेलकुद क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्नेछ । प्रचलित कानुनअनुसार अयोग्य नभएका व्यक्ति खुला प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् ।
यसअघि मन्त्रालयले गत जेठमा खेलकुद महाशाखाका प्रमुख, उपसचिव (दशौँ) तहका कर्मचारी जवाहरलाल हमाललाई सदस्य–सचिव नियुक्त गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय कानुनविपरीत भएको भन्दै उच्च अदालत सुर्खेतले कार्यान्वयनमा रोक लगाएको थियो ।
अदालतको आदेशपछि मन्त्रालयले अध्यादेशमार्फत नियुक्ति गर्ने तयारी गरे पनि मुख्यमन्त्री कँडेलले त्यसलाई रोक्दै खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न निर्देशन दिएका थिए ।
सामाजिक विकास मन्त्रालय खेलकुद महाशाखा प्रमुख जवाहरलाल हमालका अनुसार, प्रदेश सचिवको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ । समितिमा राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य नन्दा बस्याल र गणेश कार्की सदस्य छन् ।
बस्याल एमालेको राष्ट्रिय महाधिवेशनमा व्यस्त भएकाले छनोट प्रक्रिया केही समय अघि बढ्न नसकेको मन्त्रालयले जनाएको छ । समितिले मापदण्डअनुसार उम्मेदवारको मूल्यांकन गरी अधिकतम अंक प्राप्त गर्ने तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । समितिको सिफारिसपछि मन्त्रिपरिषद् बैठकले सदस्य–सचिव नियुक्त गर्नेछ ।









ई-कर्णाली खबर
७ पुष २०८२, सोमबार १३:०३