Loading... आजः २१ माघ २०८२, बुधबार

काठमाडौंका मेयर बालेनले दिए राजीनामा


काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनले पदबाट राजीनामा दिएका छन् ।

उनले उपमेयर सुनीता डंगोललाई राजीनामा बुझाएका हुन् ।

बालेन २०७९ को वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएका थए ।

स्वतन्त्र उम्मेद्वार बालेनले ६१ हजार सात सय ६७ मत ल्याएका थिए ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमसँगै उनी मेयर पद छाडेर राजनीतिमा होमिँदै छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्द भएका छन् ।

रास्वपाबाट उनी भावी प्रधानमन्त्री बन्ने सहमति भएको छ । उनी रास्वपाका वरिष्ठ नेतासमेत हुन् ।

राजीनामा दिएपछि बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका छन् ।

उनलाई रास्वापा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकले भव्य स्वागत गरेका छन् । उनले वरिष्ठ नेताको पदभार ग्रहणसमेत गरेका छन् ।

साह रास्वपामा प्रवेश गरी झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । यो क्षेत्रमा उनले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको सामना गर्नुपर्ने छ ।

यसैबीच, मेयरले राजीनामा दिएपछि उपमेयर सुनीता डंगोलले कार्यबाहक मेयरको जिम्मेवारी पाएकी छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार मेयरको पद रिक्त भएपछि उपमेयरले स्वतः कार्यबाहकको जिम्मेवारी पाउने व्यवस्था छ ।