कर्णालीमा भारी हिमपातः किसानलाई राहत, जनजीबन कष्टकर

सुर्खेत — लामो समयको खडेरीपछि कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा, कालीकोट र जुम्लाका अधिकांश ठाउँमा भारी हिमपात भएको छ ।
शुक्रबार रातिदेखि शनीबार बिहानसम्म भएको भारी हिमपातले किसानको बालीलाई राहत दिएपनि जनजीबन भने कष्टकर बनेको छ । कर्णालीमा मंसिर दोस्रो सातापछि बल्ल हिमपात भएको हो । हिमपातपछि हिमाली जिल्लाका बासिन्दाले ‘सुविकाल’को आश गरेका छन् । खडेरीका कारण अन्नबाली बिग्रन थालेको भन्दै चिन्तित बनेका किसानलाई शनिबारको हिमपात र वर्षाले राहत दिएको हो । हिउँ परेपछि खडेरीले सुक्न लागेका बालीमा राहत पुगेको मुगुस्थित मुर्मागाउँका बिर्खबहादुर रोकायाले बताए । ‘हिउँ परेपछि हिमाली बस्तीमा सुविकाल आउँछ, हिउँ नपरेको वर्ष हिमाली बस्तीमा अनिकाल हुन्छ,’ उनले भने, ‘ढिलै भएपनि अहिले पुग्नेगरि हिउँ परेको छ, बालीनाली, स्याउ र अरु फलफूलको उत्पादन बढ्ने अपेक्षा छ ।’ हिउँ परेपछि पशुचौपाया चरन गर्न र घाँसदाउरा ल्याउन भने समस्या भएको उनले बताए ।
सोरु–४ रावलबाडाका चन्द्र नेपालीले अहिले परेको हिउँले जेठासी बाली गहुँ, जौंदेखि कात्तिके बाली कोदो कागुनो, चिनो, पाखेधानसम्मलाई फाइदा पुर्याउने देखिएको बताए । उनका अनुसार बाक्लो हिउँ परेको वर्ष खोला र मुहानमा पानी बढ्ने भएकाले सुविकालहुने उनी बताउँछन् । ‘राम्ररी हिउँ परेको वर्ष जिल्लामा खाद्यान्न अभाव कहिल्यै हुँदैन,’ उनले भने, ‘वर्सेनि खाद्य संस्थानको चामल किनेर खानुपर्ने बाध्यता यस वर्ष टर्ने देखियो।’
हिमपात भएपछि हिमाली जिल्लाका किसानले वरपर जमेको हिउँको डल्लो स्याउका बोट वरपर राख्न थालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता सुनिल लिम्बुले बताए । उनका अनुसार स्याउको बोट आसपासको क्षेत्र सिञ्चित हुने भन्दै हिउँका डल्ला राख्न थालिएको हो । ‘जति धेरै हिउँ आयो, उति धेरै स्याउ फल्छ,’ उनले भने, ‘सिँचाइ गर्नुपर्ने झन्झटबाट किसानले मुक्ति पाए, स्याउमा रोगकिराको प्रकोप पनि यस वर्ष कम हुने देखियो ।’
हिमपातका कारण कर्णालीका सबै हिमाली जिल्लाहरुमा शनिबार सुर्खेत र नेपागन्जबाट हुने सबै हवाइ उडान रद्द भएको नागरिक उड्ययन कार्यालयले जनाएको छ । हुम्लास्थित सिमकोट विमानस्थलमा झण्डै एक फिट हिउँ जमेको छ । हिमपातका कारण मध्यपहाडी राजमार्ग, गमगढी–नाग्म सडक र सिमकोट–हिल्सालगायत झण्डै एक दर्जन सडकमा यातायात सेवा बन्द भएको छ ।
हिमपातका कारण स्थानीयलाई घर बाहिर निस्कन समस्या भएको हुम्ला सिमकोटका मदन रोकायाले बताए । उनका अनुसार बाक्लो हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिकाबाट सदरमुकाम सिमकोट आउने सबै पैदलमार्ग बन्द भएका छन् । उनले झण्डै ५ हजार मिटर उचाइका नारा र न्यालु लेकमा झण्डै ३ फिट हिउकक परेको छ बताए । उनका अनुसार शनिबार साँझसम्म हिमपात जारी रह्यो ।
हिमपातका कारण कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा हिमपातले सेताम्मे बनेको छ । रारामा झण्डै २ फिटसम्म हिउँ परेको रारा राष्ट्रिय निकुञ्जका रेञ्जर धर्मजीत साउँदले बताए । हिमपातपछि राराताल वरपरका रुख हिउँले निहुँरिएका छन् ।
हिमपातकाकारण मध्यपहाडी लोकमार्गअन्तर्गतको रुकुम पूर्व–बाग्लुङ सडकखण्डको आवागमन अवरुद्ध भएको छ। पातिहाल्ने र आसपासमा हिमपात भएकाले लोकमार्ग बन्द भएको छ। हिमपातकाकारण मुगुस्थित गमगढी–नाग्मा सडकअन्तर्गतको सातमोडमा भारी हिमपात भएपछि यातायात बन्द भएको छ भने हुम्लाको सिमकोट–हिल्सा सडकका अधिकांश ठाउँमा बाक्लो हिउँ जमेको हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए। उनले हिमपात रोकिएपछि सिमकोट विमानस्थलको हिउँ हटाएर मात्र हवाइ सेवा सुचारु हुने जानकारी दिए ।









ई-कर्णाली खबर
११ माघ २०८२, आईतवार ०६:४६