Loading... आजः २१ माघ २०८२, बुधबार

अन्ततः ६ वर्षपछि कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाईनको निर्माण कार्य सम्पन्न

सुर्खेत– कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारणलाईन आयोजनाले पूर्णता पाएको छ । झण्डै ६ वर्ष लामो प्रयासले कोहलपुर सबस्टेशनबाट सुब्बाकुना सबस्टेशनमा विद्युत प्रवाह गरेर आयोजनाले पूर्णता पाएको हो ।

आयोजनाले पूर्णता पाएसँगै अब कर्णालीमा हुने अनियमित र लो भोल्टेजको समस्या समाधान हुने विश्वास लिईएको छ । कोहलपुरदेखि सुब्बाकुनासम्मको ५२ किलोमिटर दूरीमा टावर निर्माण, विद्युत् तार तान्ने कामसँगै सब–स्टेसनमा विद्युत चार्ज गर्ने कार्यमा आयोजनालाई ६ वर्ष लागेको हो ।

आयोजना प्रमुख रविकुमार चौधरीले कोहलपुर ग्रिडबाट सुर्खेत सबस्टेशनमा विद्युतलाइन जोडेर परीक्षण प्रसारण जाँच कार्य पुरा भएपछि विधिवत उद्घाटन गरिने बताए । उनले जग्गा अधिग्रहण, मुआव्जा वितरण, पोल गाड्ने र तार तान्ने क्रममा अप्ठ्यारो भूगोल, मौसम प्रतिकुल, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रका रुख कटानमुछान कार्यलगायतका कारणले आयोजना तोकिएको समय भन्दा बढी समय लागेको जानकारी दिए ।

उनका अनुसार कोहलपुरदेखि वीरेन्द्रनगरसम्म कुल १ सय ६२ वटा टावर निर्माण गरिएका छन् । यो प्रसारणलाइन सुर्खेतहुँदै, दैलेख, जुम्ला र कालीकोटसम्म पुग्नेछ । पछिल्लो चरणमा दैलेखको चुप्रामा सबस्टेशन निर्माणसँगै सुर्खेतदेखि चुप्रा बीचमा टावर निर्माण कार्य हाल जारी रहेको छ ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा भारतीय निर्माण कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन आयोजना निर्माणको जिम्मा पाएको थियो । दुई वर्षभित्र काम सक्ने गरी २०७६ असार २२ मा ६५ करोड रुपैयाँ लागतमा निर्माण कम्पनीसँग सम्झौता भएको हो ।

२०७८ असार २३ भित्र सकिनुपर्ने आयोजनाको काम चार बर्ष ढिला भएको हो । राष्ट्रिय निकुञ्ज भित्रका रुख कटान प्रक्रियामा ढिलाइ, बारम्बार स्थानीयको अवरोध लगायतका कारणले आयोजना लम्बिएको थियो । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन विस्तार गर्न १३ हजार रुख काट्नुपरेको थियो ।

आयोजना बन्ने अधिकांश भू–भाग निकुञ्ज क्षेत्र परेकाले निकुञ्जको नियमअनुसार प्रक्रिया पूरा गरी रुख काट्न मात्र तीन वर्षभन्दा बढी समय लागेको हो । आयोजना निर्माण कार्य पुरा भएसँगै कर्णालीबासी हर्षित बनेका छन् । यसअघि २०४५ सालमा बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरसम्म पहिलोपटक ३३ केभी लाइन विस्तार गरिएको थियो ।

उक्त लाइन साना सिटी पोलमार्फत जंगलको बीचमा भएकाले पानी पर्दा, हावा चल्दा यो लाइन बारम्बार अवरुद्ध हुने, सुख्खा सिजनमा भोल्टेज लो हुने गरेको थियो । एंगल टावरसहितको १३२ केभी प्रसारणलाइन निर्माण सम्पन्न भएसँगै सुर्खेत आसपासका ग्राहकले विद्युत समस्याबाट ठूलो राहत पाएका छन् ।

विशेषगरी उद्योगी व्यवसायी लो भोल्टेजको मारमा थिए । सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मण कँडेलले १३२ केभी प्रसारणलाइन निर्माणको सफलताले कर्णाली उज्यालोको नयाँ युगमा प्रवेश गरेको बताए । अब आयोजनाले पूर्णता पाएसँगै कर्णालीमा उद्योग व्यवसाय सञ्चालनको ढोका खुलेको उनको भनाइ छ ।