Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

डाक्टरले गर्भको बच्चाको तर्फबाट बुवालाई लेखिदिने चिठी

सुर्खेत   पाँच वर्षअघिको कुरा हो। वीरेन्द्रनगरकी एक गर्भवती महिला कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा जँचाउन आएकी थिइन्।उनी बालरोग विशेषज्ञ डा. नवराज केसीको कार्यक्षमा पुगिन्। डा. केसीले ती महिलाको घाँटीमा चोट लागेको देखिहाले।

 

अरू जाँचपछि उनले घाँटीको चोटबारे सोधे। महिला केही बोलिनन्।डा. केसीले लत्तो छोडेनन्। घरी के भने, घरी के। तर उनलाई घाँटीको चोट कसरी लाग्यो भनेर सोधिरहे।अन्तिममा महिलाले भनिन्, ‘बुढाले पिटेर।’

डा. केसी ती महिलाको निन्याउरो अनुहार अहिले पनि सम्झिन्छन्।’उहाँ डराउनुभएको थियो। निराश अनुहार लगाएर उहाँले अरू पनि कुरा गर्नुभयो,’ डा. केसीले सेतोपाटीसँग भने।

 

ती महिलाले श्रीमानले सधैं रक्सी खाने र बेलुका आएर आफूलाई विभिन्न बहानामा पिट्ने उनलाई बताएकी थिइन्। डा. केसीका लागि यो नौलो थिएन। समाजमा रक्सी खाएर श्रीमती कुट्ने घटना उनले धेरै नै सुनेका थिए।

त्यो दिन ती महिलाका कुरा सुनेर उनले यसको समाधानको पाइला चाले। उनले आफ्नो टेबलको छेउबाट एउटा खाली कागज निकाले र केही लेखेर खाममा राखे। अनि ‘आफ्नो श्रीमानलाई दिनू’ भनेर ती महिलालाई दिए।घर पुगेर उनले श्रीमानलाई त्यो चिठी दिइन्। चिठी पढिसकेपछि उनका श्रीमानले च्यातेर आगोमा फालिदिए।

 

तर दिनकै रक्सी खाएर आउने श्रीमान भोलिपल्ट बेलुका नमाती घर आए। खाना पकाउन सुरसार गरेकी श्रीमतीलाई भने, ‘छोड, मै पकाउँछु। आराम गर।’छक्क पर्दै उनी बसेर श्रीमानले पकाएको हेरिन्। उनले पकाएको खाइन्। त्यसभन्दा बढी छक्क उनी श्रीमानले आफ्ना लुगा पनि धोइदिएको देखेर परिछन्।

 

उनलाई श्रीमानको यो बदलिएको व्यवहार डा.केसीको त्यही चिठीको करामत भन्नेमा शंका रहेन। तर रक्सी खाएर दिनहुँजसो आफूलाई पिट्ने श्रीमान एकाएक बदलिदिने त्यो चिठीमा आखिर के लेखिएको थियो?

 

 

उनको मनमा यो प्रश्न धेरै दिन खेल्यो। अनि अर्कोपटक डा. केसीकहाँ जाँदा उनले सोधिन्, ‘डाक्टर साहेब, खासमा त्यो चिठीमा तपाईंले के लेख्नुभएको थियो?’डा. केसीले आफूले पठाएको चिठीमा लेखिएको कुरा सुनाए।खासमा त्यो चिठी डा. केसीले आफ्नो तर्फबाट लेखेका थिएनन्, आफ्ना हातले ती महिलाको पेटमा भएको बच्चाको तर्फबाट लेखिदिएका थिए। बच्चाले आफ्नो बाबालाई लेखेको चिठी!

 

 

‘प्रिय बुवा, म अहिले आमाको पेटभित्र खेलिरहेको छु। सुरक्षित छु। यहाँ खेल्ने ठाउँ पनि थुप्रै छ। म बाहिर आएर, तपाईंको हात समातेर स्कुल जान आतुर छु। तपाईंको काखमा खेल्न आतुर छु। तर, बेलुकापख मलाई कसैले मेरो घाँटी च्यापेको जस्तो लाग्छ। कसैले मलाई मार्दिन खोजेको जस्तो लाग्छ। मेरो बुवा हुँदाहुँदै मेरो आमाको वरिपरि कसले यस्तो गरेको होला र? मलाई त यस्तो कुरामा विश्वास लाग्दैन। मेरो आमाको सुरक्षा हजुरले गरिदिनुहोला है। किनभने उहाँकै पेट मेरो घर हो।’

 

 

 

चिठीको बेहोरा सुनेर ती महिला मुसुक्क हाँसिन्। उनको अनुहार अघिल्लो पटकजस्तो निन्याउरो पनि थिएन। ढुक्कले फर्किइन्।

त्यसयता डा. केसीले अरू बाबुहरूलाई पनि बच्चाहरूको तर्फबाट चिठी लेखिदिएका छन्। अहिले पनि कर्णाली प्रदेशमा महिला हिंसाका घटना उस्तै छन्। अझ दिनहुँ बढिरहेका छन्।

 

कर्णाली प्रदेश प्रहरी कार्यालयमा रहेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको आठ महिनामा पाँच सय ५० वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन्। पोहोर यस्तै मुद्दा छ सय २७ वटा थिए। त्योभन्दा अघिल्लो वर्ष आठ सय ५८ वटा मुद्दा दर्ता भएका थिए।

 

 

गर्भवती महिलामाथि हुने हिंसा यस्ता चिठीले कम गर्न सघाउ पुर्‍याउने अनुभव डा. केसीको छ। उनले अहिलेसम्म चार जना गर्भवतीका श्रीमानलाई त्यस्तो पत्र पठाइसकेका छन्। ती सबै प्रयास प्रभावकारी बनेको उनी बताउँछन्।

 

 

उनले गर्भवती महिलाका श्रीमानलाई लेखेजस्तै चिठी पठाउने अभ्यास नेपालमा लामो समयदेखि चलिरहेको छ। समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम (सिबि–आइएमएनसिआई) सन् १९८३ देखि नेपालमा लागू भइरहेको छ।

 

 

यो कार्यक्रमले गर्भवती महिलाको स्याहार-सुसार तथा हिंसा रोक्ने उपायहरू समुदायलाई सिकाउने डा. केसी बताउँछन्। गाउँघरका स्वास्थ्य स्वयंसेविकादेखि अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीलाई तालिम दिएर उनीहरूमार्फत समुदायलाई यी कुरा सिकाउने गरिएको छ।

 

 

डा. केसी यो तालिमका प्रशिक्षक हुन्।

यसका प्रशिक्षक हुनुभन्दा पहिलेदेखि नै उनी बिरामीलाई लिएर भावुक हुने मान्छे थिए रे। आफ्ना बिरामी हिंसामा परेको वा दुःख पाएको थाहा पाए, कसरी उनीहरूलाई त्यसको दलदलबाट निकाल्ने होला भन्ने सोचाइ उनमा आउँथ्यो। यो कार्यक्रमको प्रशिक्षक बन्ने तालिम लिँदा उनले उपाय पनि भेट्टाए।

 

 

‘हिंसामा परेका बिरामीलाई कसरी सहयोग गर्ने होला भन्ने लागिरहन्थ्यो। सकेसम्म सहयोग-सल्लाह दिन्थेँ,’ उनले भने, ‘तर त्यो तालिमको प्रशिक्षक भइसकेपछि मैले चिठीको यो कुरा थाहा पाएँ। यसले हिंसा रोक्न सकिन्छ भन्ने अनुभव पनि गर्न पाएँ।’

‘मेरो बाबालाई चिठी’ को नमूना

यो तालिम बच्चा जन्मिएदेखि पाँच वर्षको हुँदासम्म कसरी स्याहार-सुसार गर्ने भन्ने विषयमा केन्द्रित हुन्छ। समुदायस्तरीय कार्यक्रमभित्र ‘मेरो बाबालाई चिठी’ पनि पर्छ।

‘बच्चा नजन्मिँदै, गर्भमै कसरी सुरक्षित राख्ने भन्ने कुरा सिकाउने यो कार्यक्रमको फाइदा हो,’ डा. केसीले भने।

उनका अनुसार बच्चाको मानसिक र शारीरिक स्वास्थ्य, बानीबेहोरा राम्रो होस् भनेर गर्भमा छँदै आमाको भावनात्मक र खानपिनको राम्रो स्याहार हुनुपर्छ। त्यो कुरा पनि चिठीमा लेखिएको हुन्छ। गर्भवतीलाई खानपिन नमिल्ने, दुर्व्यवहार वा हिंसा जस्ता कामले उनीहरूको गर्भमा रहेको बच्चालाई असर पर्ने डा. केसी बताउँछन्।

 

 

गर्भमा भएको बच्चाको तर्फबाट बाबालाई लेखिने चिठीले गर्भवती र बच्चाको स्याहार गर्न मात्र सिकाउँदैन, महिलामाथि हुने हिंसा रोक्न पनि सघाउ पुर्‍याउने उनी बताउँछन्।

‘यो कार्यक्रमको भूमिका हेर्दा सानोतिनो लाग्छ तर दीर्घकालीन प्रभाव पार्ने खालको छ,’ डा. केसीले भने, ‘गर्भवतीमाथि हुने हिंसा रोक्न यो चिठीले धेरै काम गर्छ। मैले नै धेरै देखेको छु।’

 

 

कार्यक्रम सञ्चालनका लागि बनाइएको मार्गनिर्देशिकामा चिठीको नमूना हुन्छ। त्यो चिठी स्वास्थ्य संस्थाहरूमा प्रिन्ट गरी राख्ने र पहिलोपल्ट गर्भवती जाँच गराउन आउनेलाई आफ्ना पतिलाई दिनू भनेर खाममा हालेर दिइन्छ।

 

 

गर्भको बच्चाले आफ्नो स्याहारका लागि के-के विधि अपनाउने भनेर बाबालाई दिने सन्देश चिठीको पछाडि लेखिएको हुन्छ। उनका अनुसार यस्तो चिठी विशेषगरी दुई प्रकारले लेखिन्छ।

पहिलो, नवजात शिशु तथा बाल स्वास्थ्य सेवाअन्तर्गत समुदाय परिचालन निर्देशिकामा ‘मेरो बाबालाई चिठी’ को नमूना छ। यो नमूनामा गर्भवती आमाका आवश्यकता पूर्ति, आफूलाई कसरी गर्भभित्र स्याहार-सुसार गर्ने भन्ने कुरा लेखिएको हुन्छ। यो खालको चिठी सामान्य अवस्थामा पठाइन्छ।

 

 

दोस्रो, असामान्य अवस्थामा स्वास्थ्यकर्मीले बच्चाको तर्फबाट लेखेर बाबालाई पठाउने चिठी हो। बुवाले आमालाई कुटपिट गर्छ वा मादकपदार्थको दुर्व्यसनी छ भने त्यस्तो बुवालाई गर्भमा रहेको बच्चाको तर्फबाट स्वास्थ्यकर्मीले भावनात्मक चिठी लेखेर पठाउन सक्छन्।

‘जो पुरूष गर्भवतीमाथि हिंसा गर्छ वा लागुपदार्थ दुर्व्यसनीमा फसेको छ, उसको बच्चा पृथ्वीमा आउँदै छ। सोही गर्भमा रहेको बच्चाको तर्फबाट मेरो आमालाई कसैले दुर्व्यवहार गर्‍यो भने मलाई भित्र असर पर्छ, म मर्न पनि सक्छु है भनेर भावुक रूपमा पत्र लेखिदियो भने धेरै बुवा परिवर्तन हुन्छन्,’ डा. केसीले भने।

 

 

बाबालाई चिठी पठाउने कार्यक्रमको उद्देश्य पनि गर्भवतीका श्रीमानलाई बच्चा गर्भमा रहेदेखि दुई वर्षको नहुन्जेलसम्म बच्चा र आमाको पोषण तथा स्वास्थ्य अवस्था सुधार गर्न मुख्य जिम्मेवार बनाउनु हो। यो चिठीबाट लक्षित समूह भनेका गर्भवती, उनीहरूका पति तथा उनीहरूका परिवारका अन्य सदस्य हुन्छन्।

 

 

यो चिठी दिँदा यदि श्रीमान सँगै आएका छन् भने स्वास्थ्यकर्मीले उत्साहित हुँदै ‘तपाईंलाई यो चिठी आएको छ नि!’ भनेर दिन्छन्।

गर्भमा रहेको बच्चाको स्याहार तथा महिलामाथि हुने घरेलु हिंसा रोक्न सघाउ पुर्‍याउने यो पद्धति सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले अपनाएको भने पाइँदैन।

 

 

 

‘एउटा चिठीले समाजका आपराधिक गतिविधि कम हुन्छन् र बच्चाहरूको सफलताको आधार बन्छ भने यो पद्धति कार्यान्वयन गर्न कसैले कन्जुस्याइँ गर्नु हुँदैन,’ बालरोग विशेषज्ञ डा. केसी भन्छन्, ‘यो अधिकांश स्वास्थ्यकर्मी र संस्थाले गरेका छैनन्। यसमा सबैले ध्यान दिनु जरूरी छ।’by-setopati


error: Content is protected !!