Loading... आजः २५ मंसिर २०८२, बिहीबार

देउवाजीसँग होटेलमा कुनै डिल भएको छैन : महामन्‍त्री सशांक

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटेर आफूले कुनै गोप्य डिल नगरेको  स्पष्ट पारेका छन्।

कोरोना महामारीका कारण आफू डेढ महिनादेखि ‘होम क्‍वारेन्टाइन’ मा रहेको बताउँदै कोइरालाले भने, ‘डेढ महिनादेखि मैले देउवाजीलाई भेटेको छैन। खास कुराकानी पनि भएको छैन।’

डेढ महिनादेखि घरबाटै बाहिर ननिस्किएको बताउँदै उनले भने, ‘होटेलमा देउवाजीलाई भेटेर गोप्य डिल गरेको हल्ला गलत हो। त्यस्तो कुनै डिल भएको छैन र गर्न आवश्यक पनि छैन।’ कोइरालाले अन्‍नपूर्णपोस्ट डटकमसँग भने, ‘आवश्यक परे पार्टी सभापतिसँग खुला रुपमा औपचारिक छलफल र भेट हुन्छ। किन होटेलमा गएर गोप्य भेट र छलफल गर्नुपर्‍यो र ?

जीपी कोइराला लोकतन्त्र सम्वद्र्धन केन्द्रले बिहीबार आयोजना गरेको वेबिनारमा  पूर्वमहामन्‍त्री कृष्ण सिटौलाले सभापति देउवा र महामन्‍त्रीबीचको गोप्य भेटबारे प्रश्‍न उठाएका थिए। त्यहाँ पनि कोइरालाले त्यस्तो कुनै गोप्य भेट वा छलफल नभएको स्पष्ट पारेका हुन्।

महामन्‍त्री कोइरालाले पार्टीमा नेतृत्व परिवर्तनको पक्षमा आफू दृढ रहेको बताउँदै साथीहरूसँग सल्लाह तथा परामर्श गरेर आफू पनि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्‍ने बताए। उनले भने, ‘पार्टीमा नेतृत्व परिवर्तन आवश्यक छ। त्यसका लागि म तयार छु। साथीहरूसँग छलफल गरिरहेको छु।’

देउवासँगको गोप्य भेटमा सहभागी भएका भनिएका अर्का नेता मीनेन्द्र रिजालले यो प्रायोजित हल्ला मात्रै भएको बताए। उनले भने, ‘महाधिवेशन नहुँदासम्म यस्ता प्रयोजित हल्ला र प्रपोगान्डा भइरहन्छन्। तर यस्ता हल्ला पत्याएर प्रतिक्रिया दिन हतार गर्ने  र रणनीति बनाउन खोज्‍ने नेताहरूको परिपक्कता देखेर मलाई दु:ख लागेको छ।’