Loading... आजः २५ मंसिर २०८२, बिहीबार

नेकपा कार्यदलको प्रतिवेदनमा वरिष्ठ नेता नेपालको असन्तुष्टि

काठ्माण्डौ । विवाद समाधानका लागि गठित नेकपा कार्यदलको प्रतिवेदनमा वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्। नेकपा सचिवालयको बिहीबार बैठकमा बोल्दै वरिष्ठ नेता नेपालले कार्यदलले बुझाएको प्रतिवेदन अमूर्त र अपूरो रहेको बताएका हुन्।

‘यो प्रतिवेदन समस्या समाधानका लागि साधन बन्नुपर्छ। पार्टी र सरकारमा देखिएको समस्या समाधान गर्न यसले जनताको विश्वास जित्न काम गर्नुपर्छ। यो प्रतिवेदन धेरै हिसाबले अमूर्त र अपूरो छ। यसलाई सच्याएर आउनुपर्छ,’ वरिष्ठ नेता नेपालका भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ‘विधानले व्यवस्था गरेको एक व्यक्ति, एक मुख्य जिम्मेवारीको कुरामा पनि प्रतिवेदनले बोलेको छैन। बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ भन्ने कुरा विधानको धारा ६० मा उल्लेख छ। यसमा पनि प्रतिवेदन मौन छ। यस्ता कुरामा प्रतिवेदनले बोल्नुपर्छ।’

पार्टीको निर्णयमा सरकार चल्ने हो कि समन्वयमा चल्ने, त्यो पनि स्पष्ट हुनुपर्ने धारणा वरिष्ठ नेता नेपालले बैठकमा राखेका थिए। भ्रष्टाचार लगायत विषयमा समेत प्रतिवेदनले नबोलेको उनले बताएका थिए।

कार्यदलको प्रतिवेदनमा धेरै विवाद नरहेको एक सचिवालय सदस्यले सेतोपाटीलाई बताए।

‘कार्यदलको प्रतिवेदनमा सबैले धन्यवाद दिए। कार्यदलको सुझाव जस्ताको तस्तै लागू गर्ने भन्ने भएन,’ ती सचिवालय सदस्यले भने, ‘त्यसलाई कसरी हल गर्ने भनेर एक्सन प्लान बनाएर लागू गर्नुपर्छ भन्ने भएको छ।’

नेकपा विवाद समाधानका लागि गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजक्तवमा कार्यदल गठन भएको थियो। कार्यदलमा स्थायी समिति सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखेरल, जनार्दन शर्मा र पम्फा भुषाल सदस्य थिए।

कार्यदलले साउन ६ गते १७ पेज लामो प्रतिवेदन पार्टीका दुई अध्यक्षलाई बुझाएको थियो।